धरान : नगर प्रमुख हर्क साम्पाङले आफैले फेसबुकमा स्ट्याटस लेखी धरान उपमहानगरपालिकाका ३ जना कर्मचारी 'निकालेको' जनाएका छन् ।
नगर प्रमुख साम्पाङको एकल निर्णयले खानेपानीको शुल्क बढाएपछि आन्दोलन चलिरहेको बेला उनले कर्मचारी ‘निकालेको’ फेसबुक स्ट्याटस आएको हो । आन्दोलनसँग यसको सम्बन्ध भए नभएको स्ट्याटसमा उल्लेख भने छैन ।
उनले ‘निकालिएको’ भनिएका कर्मचारीहरूमा इन्जिनियर देशकुमार राई, खरिदार सञ्जीव दाहाल, स्टोरकिपरका करार कर्मचारी समीर पौड्याल छन् । इन्जिनियर देशकुमार र खरिदार सञ्जीव स्थायी कर्मचारी हुन ।
प्रमुख साम्पाङले फेसबुकमा लेखेका छन् ‘१२ हजार बाँडेर खाएको भन्ने बुझे पछि ३ जना कर्मचारीलाई निकाल्देको छु ।’
उनीहरूले के बापत पैसा लिएका थिए र त्यो अनियमित भएको प्रमाणित गर्न के प्रक्रिया अपनाइयो त्यस बारे प्रमुख सम्पाङको स्ट्याटसमा उल्लेख छैन । स्थायी कर्मचारी समेत भएकाले छानबिन गर्न निलम्बन गरिएको हो कि के त्यो पनि स्पष्ट छैन ।
‘निकालिएको’ भनिएका कर्मचारीको नाम नगर प्रमुखले स्ट्याटसमा उल्लेख नगरे पनि ३ जना कर्मचारीलाई पत्र दिएको कुरा भने उपमेयर अईन्द्र विक्रम बेघाले कपुरी न्यूजलाई जानकारी दिए  ।
कर्मचारी निष्कासन वा निलम्बनको कानुनी प्रक्रिया पुरा गरिएको छ छैन भन्ने बारेमा बुझ्न उपमहानगरपालिकाका प्रशासकीय प्रमुख भूपेन्द्र राईलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।