धरान : चुनावका बेला नगर प्रमुख हर्क साम्पाङको दाहिने हात भएर प्रचारमा हिँडेका निकट सहयोगी आरसी साम्पाङले आज शुक्रवार भानुचौकमा आयोजित १० दलीय कोणसभामा भने ‘नगर प्रमुख हर्क साम्पाङ प्रमुख बन्न लायक रहेनछन् ।’

राष्ट्रिय साझा पार्टीका प्रवक्ता आरसीले नगरप्रमुख साम्पाङले एकल निर्णयमा गरेका कार्यहरूको बारेमा पटक पटक सल्लाह दिँदा पनि नमानेकाले उनको गलत प्रवृत्ति विरुद्ध आफूले विद्रोह गरेर अहिले खानेपानी शुल्क वृद्धि विरुद्धको आन्दोलनमा आफू पनि सक्रिय सहभागी भएको बताए ।

आरसीले धराने जनतालाई नगर प्रमुख राईले हेपेको बताए । भानुचौकमा उनलाई सुनिरहेका जनसमूहसँग नगर प्रमुख सम्पाङ फेसबुकमा ‘मरेका स्यालहरू’ भनी धरानेलाई लेखेको कुरा उल्लेख गर्दै सोधे ‘धरान जनता स्याल हो ?’

‘होइन’ जनसमूहबाट जवाफ आयो । त्यसो हो भने, नगर प्रमुख साम्पाङले अवैज्ञानिक र अवैधानिक रूपमा खानेपानीको जनताले व्यहोर्न नसक्ने गरी शुल्क वृद्ध गरेको विरोधमा एकजुट भएर खारेज गर्न बाध्य बनाउनु पर्ने उनको भनाई थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ठाकुर कार्कीले धरानेलाई निःशुल्क पानी खुवाउने भनी चुनाव जितेका साम्पाङले ‘अव भ्रमको खेती गर्ने दिन गएको’ बताए उनले नगर प्रमुख राईले दुई वर्षमा एक रुपैयाँ पनि ऋण नतिरेको बताउँदै प्रश्न गरे ‘किन ऋण तिरिएन ?’

एमालेका नेता राजमणि निरौलाले धरानको विकास निर्माणमा नगर प्रमुख राईको कुनै पनि भूमिका नरहेको बताउँदै सोधे ‘घण्टाघर, रङ्गशाला, बसपार्क बनाउँदा कहाँ हुनहुन्थ्यो ?’

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता मोहन तिगेलाले निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता गरेको प्रमुख सम्पाङले धरानेलाई धोखा दिएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय प्रतिनिधिले विनोद कोइराला धराने जनताको नगर प्रमुख राईले अपमान गरेको बताए । उनले मन्त्रालयमा पुग्दा धरानबाट आउँदा पनि कर्मचारी हाँसेको बताउँदै भने, ‘किन यस्तो अवस्था भयो ?’ धरानवासी भन्न पनि अप्ठ्यारो हुन थालेको बताए ।

दलहरूले शुल्क वृद्धि विरुद्धको आन्दोलनको चरणबद्ध आन्दोलनको क्रममा खानेपानीको शुल्क महसुल पुरानै कायम गर्नुपर्ने माग राखेर भानुचोकमा कोणसभा गरेका हुन ।

खानेपानीको शुल्क साम्पाङले ९ हजार ९ सय प्रतिशतसम्म बढाएका छन् । २ सय रुपैयाँ तिर्दै आएको शुल्कमा १९ हजार ८ सय रुपैयाँ पुर्‍याएका छन् ।

खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले कार्यान्वयन नगर्न निर्देशनात्मक पत्र साउन १८ गते नै पठाएका छन् । तर साम्पाङले खानेपानीको पुरानै दर कायम गरेका छैनन् ।

भोली २ ठाउँ कोणसभा 

राजनैतिक दलहरूले तेस्रो चरणको आन्दोलन अन्तर्गत भोली शनिवार धरान-१८ स्थित बुद्ध चोकमा र धरान-१५ स्थित श्याम चोकमा कोणसभा गर्ने माओवादी केन्द्र इन्चार्ज चोत्लुङले बताए ।

उनले आइतबार ११ बजेसम्म स्वघोषित अध्यक्ष तथा खानेपानी बोर्डले वार्ताका लागि लिखित पत्र नपठाए पुनः उपमहानगरपालिकामा घेराउ गर्ने इन्चार्ज चोत्लुङले जानकारी दिएका छन् ।