धरान : इलाका प्रहरी कार्यालय धरानका २ जना प्रहरी हवल्दारलाई प्रहरी आचारसंहिता विपरीत कार्य गरेकामा आन्तरिक कारबाही गरिएको छ ।

कारबाहीमा पर्ने प्रहरी हल्वदार जीवन राई र प्रहरी हवल्दार हेमराज सुवेदी छन् । उनीहरूलाई आन्तरिक कारबाही भई हिजो सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरी कार्यालय इनरुवा सरुवा गरिएको छ ।

यसबारे इलाका प्रहरी धरानका डिएसपी मानबहादुर राईलाई सम्पर्क गर्दा आफूलाई केही थाहा नभएको बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाका डिएसपी प्रवक्ता नवीनराज भण्डारीले प्रहरी आचारसंहिता विपरीत सूचना बाहिर लिक गरेकोमा २ जना प्रहरीलाई कारबाही गरिएको पुष्टि गरेका छन् ।

उनका अनुसार पक्राउ पुर्जी जारी भएको सूचना बाहिर चुहाउने, अपराधको सूचीमा परेका मानिसलाई सूचना दिएर भाग्न सहयोग गरेको विशेष प्रमाणका आधारमा उनीहरूलाई कारबाही भएको हो ।

प्रवक्ता भण्डारीले प्रहरी बिच गहिरो अनुसन्धान भइरहेको र अरू प्रहरीले समेत आचार संहिता विपरीत कार्य गरे कारबाहीमा तानिने बताए ।

धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी सञ्जीता धमला माथि हातपात गर्ने २ जना महिला प्रहरी जवानलाई समेत आन्तरिक कारबाही भएको स्रोतले जनाएको छ ।

कारबाहीमा पर्ने महिला प्रहरीमा प्रहरी सहायक हवल्दार ममता कापट र प्रहरी जवान निशा खडका छन् । उनीहरूलाई आन्तरिक कारबाहीमा परेका छन् । कारबाहीमा परेपछि जवान खड्काले जागिरबाट राजीनामा दिएकी स्रोतले बताएको छ ।