वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ इकाई समितिले लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ । 
'लोक संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्नु नेपाल विद्यार्थी सङ्घको दायित्व हो' भन्ने मूल नारा सहित बिद्यार्थीहरुलाई सहभागी गराएर लोक नृत्य प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक शिशिर तामाङ (अर्जुन) ले जानकारी दिए ।
सोमवार क्याम्पस प्राङ्गणमा आयोजना भएको कार्यक्रममा २१ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा एकल नृत्य तर्फ नाईमा राई प्रथम भएकी थिइन् । सन्ध्या तामाङ र सबिना महरा क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका थिए ।
त्यस्तै समूह नृत्य तर्फ गङ्गा धामी नेतृत्वको समूह प्रथम भएको थियो । सनिता तामाङ नेतृत्वको समूह र सलिना चौधरी नेतृत्वको समूह क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका थिए ।
नेपाल विद्यार्थी सङ्घ सप्तकोसी बहुमुखी क्याम्पस इकाई समितिका सभापति विज्ञान सावा लिम्बुको सभाध्यक्षमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस सुनसरी जिल्ला कार्य समिति सदस्य तथा वराहक्षेत्र नगरपालिका वडा नं.७ का अध्यक्ष कपिल आचार्य रहेका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ सुनसरीका उपसभापति तथा जनता बहुमुखी क्याम्पसका स्ववियू सभापति सहदेव काफ्ले, नेपाल विद्यार्थी सङ्घ सुनसरीका सचिव तथा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस स्ववियू सभापति नवीन श्रेष्ठ, सप्तकोसी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुशीला खनाल पौडेल, क्याम्पस प्रमुख सुशील कोइराला, प्राध्यापक सङ्घ सभापति केशव पुरी, पूर्व क्याम्पस प्रमुख रोहित भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
saptakoshi-Campus-student