धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङद्वारा उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने पत्र उच्च अदालत विराटनगरले खारेज गरेको छ ।

प्रमुख साम्पाङले वडा ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई आफु युके जाने भएपछि कार्यवाहक प्रमुखको जिम्मेवारीको पत्र दिएका थिए । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने प्रमुख साम्पाङको पत्र य गैरकानुनी रहेको भन्दै उच्च अदालत विराटनगरले खारेज गरेको हो ।

उपप्रमुख अईन्द्र विक्रम बेघाले शुक्रवार दायर गरेको रिटमा अदालतले आइतबार कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पत्र खारेज गर्दै उत्प्रेषणको अन्तरिम आदेश सहित कारण देखाऊ आदेश जारी गरेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले उत्प्रेषणयुक्त परमादेश जारी गरेको हो । उक्त आदेशसँगै प्रमुख साम्पाङको कार्यवाहकको जिम्मेवारी दिएको पत्र कार्यान्वयन नहुँदा स्वतः वडाध्यक्ष फागो कार्यवाहक प्रमुख नरहने भएका छन् ।  

उच्च अदालतले उपप्रमुख अईन्द्र विक्रम बेघाले दायर गरेको रिटमा सुनवाइ गर्न २३ गते पेशी तोक्दै कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पत्र खारेज गर्ने उत्प्रेषणको आदेश जारी गरेको हो ।

उच्च अदालतको आदेशमा ‘धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको चनं २३२८ असोज २३ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी भएको’ उल्लेख छ ।

परमादेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ९४ को देहाय (क) को देहाय १२ ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको चनं २३२८ असोज २३ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनिएको छ ।Adalat-1adalat 2