धरान : धरान एक्स्पो-२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ । विशेष गरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भिड लाग्ने गरेको छ ।

स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्स्पोमा झन् उत्साह थपेको छ । उनका अनुसार अफरहरूको कारणले ग्राहकहरूलाई आकर्षित गर्न सजिलो भएको छ र यसले एक्सपोको माहौललाई झन् उत्सवमय बनाएको छ ।

एक्सपोमा रहेको नेपालकै प्रख्यात ब्रान्ड क्यालिबर सुजको स्टलमा भने विशेष अफरले सबैको ध्यान खिचेको छ। यहाँ एक हजार रुपैयाँ देखी दुई हजार रुपैयाँसम्म जुत्ता किन्न पाइने अफर छ । स्टक क्लियरेन्सको उद्देश्यले राखिएको यो अफर सीमित समयका लागि भएकाले ग्राहकहरू उत्साहित छन् । क्यालिबरका प्रतिनिधिले यो अफरले ग्राहकहरूको अपेक्षालाई पुरा गर्दै गुणस्तरीय जुत्ता कम मूल्यमा उपलब्ध गराएको बताए ।

सङ्खुवासभाको शुद्ध सख्खरको स्टलमा पनि ग्राहकहरूको उल्लेखनीय चहलपहल देखिन्छ । यहाँ जैविक उत्पादन रुचाउने ग्राहकहरूको उत्साहले स्टललाई व्यस्त बनाएको छ । त्यस्तै, सुपर जुमको साबुन सरफमा पनि बम्पर अफरको कारणले ग्राहकहरू आकर्षित भएका छन्। स्टलहरूमा उपलब्ध अफर र उत्पादनको गुणस्तरका कारण धेरैले आफ्नो आवश्यकता अनुसार सामान किन्न पाएको अनुभव बाँडेका छन् ।

ग्राहकहरूका लागि यो एक्स्पो एउटा विशेष अवसर बनेको छ । विभिन्न उत्पादनमा राखिएका अफरहरूले मात्र होइन, स्टलहरूमा प्रदर्शन गरिएका उत्पादनहरूको विविधताले पनि उनीहरूलाई उत्साहित बनाएको छ। बाहिरी बजारभन्दा सस्तो मूल्यमा गुणस्तरीय सामान किन्न पाउँदा ग्राहकहरू अत्यन्तै सन्तुष्ट छन् ।

पुष २५ गतेदेखि सुरु भएको यो एक्स्पो माघ ५ गतेसम्म चल्नेछ। १४२ वटा स्टलमा नेपाल, भारत, बङ्गलादेश, र पाकिस्तानका उत्पादनहरू प्रदर्शनमा छन्। आयोजकका अनुसार, यस पटक एक्सपोमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न र ग्राहकलाई सबै सेवा तथा सामान एकै ठाउँमा उपलब्ध गराउन यो एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन् ।

dharan-expo-5Dharan-expo-2 1