धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलालाई कर्मचारी सेवा सुविधाबाट वञ्चित गराएका छन् ।

नगर प्रमुख साम्पाङको आदेशमा सोमवार नगर प्रहरीले निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलाले प्रयोग गर्दै आएको स्कुटर क्वाटरमा राखिएको बेला खोसेर ल्याएको छ । नगर प्रहरीका ईन्स्पेक्टर लेखराज भण्डारीले भने ‘नगर प्रमुख ज्युको आदेश अनुसार स्कुटर लिएर आएको हो ।’

निरौलालाई प्रमुख साम्पाङले जिम्मेवारी विहीन बनाएका छन् । उनी काठमाडौँ गएको बेला धरान-१६ स्थित आवासमा राखिएको स्कुटर उपमहानगरपालिका कार्यालय स्टोरमा रहेको दोस्रो चाबी लिएर गई नगर प्रहरीले खोसेको हो ।

ईन्स्पेक्टर भण्डारीले भने ‘स्कुटरको अर्को चाबी स्टोर रुममा थियो, त्यही चाबी लिएर गई ल्याइएको हो ।’ स्कुटर ल्याएर उपमहानगरपालिका परिसरमा राखिएको उनले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलालाई फोनमा यस विषयमा सोध्दा स्कुटरको बारेमा आफूलाई थाहा नभएको बताइन् । 

उनले भनिन् ‘राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी नदिएपछि लामो समय देखि बिदामा छु, घर व्यवहार सम्हाल्दै काठमाडौँ मै छु, नगरप्रमुखले कानुन विपरीत कार्य गर्न लगाएपछि मैले हस्ताक्षर गरिन, हस्ताक्षर नगरेपछि नगरप्रमुखले जनभावना अनुरूप काम नगरेको भन्दै उहाँकै आदेश पछि जिम्मेवार विहीन भएको छु ।’

स्कुटरको चाबी आफूसँगै भएको उनले बताइन् । उपमहानगरपालिकामा आफू भन्दा जुनियर तहको प्रमुख प्रशासकीय अधिकृत आएर कार्यभार सम्हालेपछि तल्लो तहको कर्मचारीको निर्देशन र अधीनमा काम लगाएर आफ्नो मनोबल गिराएको महसुस भएकोले ‘गलत सिस्टम विरुद्ध’ अदालतमा फिराद गरेको उनले बताइन् ।

उनका अनुसार नगरप्रमुखले व्यक्तिगत रिसइबि राख्दै राष्ट्रसेवक कर्मचारीलाई २ महिना भन्दा बढी बिदा बस्न नपाउने नियम भएपनि कानुनको उपवास गरेका छन् ।

निजामती कर्मचारी सेवा ऐन नियमावली २०४९ बमोजिम २ महिना मात्र बिदा बस्न पाउने नियम भए पनि राष्ट्र सेवकको अधिकार क्षेत्र खोस्दै जबरजस्ती बिदामा बस्न बाध्य पारेको उनको जिकिर छ ।

उनले भनिन ‘यस्तो घटना अपवाद हो ।’ अपवाद काम गर्ने काम, कर्तव्य नगरप्रमुखको क्षेत्राधिकार भित्र पर्दैन तर धरानमा अपवाद भएको उनको भनाई छ । यस्तो कार्यले धरानलाई फाइदा नहुने, आफू धरानको विकास, समृद्धिमा भूमिका गर्न आएको उनले बताइन् ।

आफूले कहिले पनि धरानको विकासमा अहित हुने काम नगरेको र नगर्ने बताउँदै उनले भनिन् ‘विषम परिस्थितिमा पनि धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निर्वाह गरेको थिएँ ।’

उनका अनुसार जिम्मेवारी दिने काम प्रमुख प्रशासकीय अधिकृतको हो, जिम्मेवारी किन, कसरी र के भएर नदिएको हो यस विषयमा प्रमुख प्रशासकीयले जान्ने कुरा हो । प्रमुख प्रशासकीय अधिकृतले कुन कर्मचारी कति दक्ष छन्, कुन तहको जिम्मेवारी दिने भन्ने काम प्रमुख प्रशासकीय हो । निरौलाले भनिन् ‘कर्मचारीको काम सम्हाल्ने काम गर्ने नगरप्रमुखले गर्ने होइन होला, प्रमुख प्रशासकीय अधिकृतले आफ्नो विषयमा केही बोलेका छैनन् ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृतको स्कुटर खोसिएको बारेमा उपप्रमुख आईन्द्रबिक्रम बेघाले ‘आफूलाई थाहा नभएको’ बताए । उनले भने ‘राष्ट्रसेवक कर्मचारीले पाउने सेवा सुविधा कटौती गर्नु हुँदैन, कर्मचारीको अधिकार खोस्नु हुँदैन ।’

प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाईलाई ५ पटक फोन सम्पर्क गर्दा समेत उनले फोन रिसिभ गरेनन् ।