मोरङ : पूर्वोत्तर मोरङको सुविधाका लागि केन्द्रको रूपमा विकासीत शहर उर्लाबारीमा धेरै अघिदेखि गरिँदै आएको नापी र मालपोत कार्यालयको माग अहिले परिणाममुखी चरणमा पुगेको छ ।
उर्लाबारी नगरपालिकाको मागलाई सम्बोधन गर्दै भूमि व्यवस्था विभागले मालपोत कार्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने भएको नगर प्रमुख गङ्गाप्रसाद खरेलले बताएका छन् । उनका अनुसार विभागले मोरङ मालपोत कार्यालयलाई सम्भाव्यता अध्ययन पत्र पठाएको छ ।
बेलबारी स्थित भूमिसुधार तथा मालपोत कार्यालयले उर्लाबारी नगरपालिकालाई पत्र लेख्दै १५ दिन भित्र प्रतिवेदन पठाइसक्नु भनी पत्रमा उल्लेख भएको नगर प्रमुख खरेलले बताए ।
बिहीबार उर्लाबारी नगरपालिका सभा हलमा सरोकारवाला पक्ष र भूमि व्यवस्था विभाग अन्तर्गत निकायका अधिकारीबिच सघन छलफल भएको छ । छलफलमा सहभागी सरोकारवालाहरूले भूगोल, यातायात सुविधा, जनघनत्व तथा प्रशासनिक पहुँचलाई आधार मानेर कार्यक्षेत्र निर्धारण गर्नुपर्नेमा जोड
दिए । 
उर्लाबारीमा मालपोत कार्यालय स्थापना भएमा उत्तरी मोरङको विकट क्षेत्रका लागि पायक पर्ने, सेवाग्राहीले छिटो, सहज र सुलभ सेवा प्राप्त गर्नेमा सरोकारवालाहरूले बताए ।
छलफलमा मिक्लाजुङ गाउँपालिकाको हकमा साबिकको रमिते खोला, टाँडी, मधु मल्ला, उर्लाबारी नगरपालिकाको साबिक मधु मल्ला र राज घाट तथा रतुवा माई नगरपालिकाको साबिक ई टहरालाई उर्लाबारी मालपोत कार्यालयको कार्यक्षेत्रमा समावेश गर्ने सहमति गरिएको छ । 
लेटाङ, जाँते, पथरी, शनिश्चरे, बयर वन, क्षेत्रको हकमा सम्बन्धित नगरपालिकाको कार्यपालिका बैठकले गर्ने निर्णयका आधारमा कार्यक्षेत्र निर्धारण गरिने भएको छ । 
कार्यालय क्षेत्र पूर्वमा मावा खोलाको पुलदेखि पश्चिममा बक्रा खोलाको पुलसम्मको क्षेत्रलाई पूर्व–पश्चिम राजमार्गको पाँच सय मिटर उत्तर–दक्षिण चौडाइभित्र राख्न सिफारिस गरिएको बैठकले निर्णय गरेको छ । सुझाव सङ्कलनपछि अन्तिम निर्णय गरिने जनाइएको छ । 
नगर प्रमुख खरेलको संयोजनमा भएको छलफलमा उपप्रमुख मीना खतिवडा पौडेल, रतुवा माई नगर प्रमुख नागेश्वरप्रसाद सिंह, उपप्रमुख दयन्ता चुँडाल, पथरी शनिश्चरेका नगर प्रमुख मोहनकुमार तुम्वापो, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, कानेपोखरी गाउँपालिका अध्यक्ष राज मति इङनामको सहभागी थिए ।
विराटनगर मालपोत कार्यालयका प्रमुख शेरबहादुर भण्डारी, बेलबारी मालपोत प्रमुख दीपक कोइराला, नापी कार्यालय बेलबारी प्रमुख खिमलाल गौतम, नापी कार्यालय विराटनगर प्रमुख गिरीशकुमार लाल कर्ण, रतुवा माई नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लभ बराल, उर्लाबारी प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, मिक्लाजुङबाट तुलाराज थापा, इलाका प्रशासन उर्लाबारीका प्रमुख महेशराज तिम्सिना, सब डिभिजन वन कार्यालय मङ्गलबारेका प्रमुख नवीन राज दाहाल, पथरीशनिश्चरे वडा १ अध्यक्ष भीम राई छलफलमा थिए । 
पुर्वोत्तर मोरङका नागरिकले भूमिसम्बन्धी सेवा लिन उर्लाबारीबाटै २५ किमी टाढाको बेलबारीसम्म धाउनु परेकोले उर्लाबारीमा मालपोत र नापी कार्यालयको माग हुँदै आएको हो । गत: २०८० देखी नगरपालिकाले गरेको पहल अहिले सम्भाव्यता अध्ययन सम्म आइपुगेको हो ।