धरान: धरानका प्रतिभाशाली युवा गल्फर २० बर्षीय शुक्रबहादुर राई नगदसहित सम्मानित भएका छन् ।

उनलाई धरान गल्फ क्लब र निर्वाणा कन्ट्री क्लब एण्ड हेल्थ रिसोर्टले सम्मान गरेको हो । क्लबले सम्मान पत्रबाट मात्र सम्मान गरेको थियो भने निर्वाणाले नगद ५० हजारसहित खेलाडी शुक्रलाई सम्मान गरेको थियो । शनिबार साँझ निर्वाणा कप गल्फ प्रतियोगिताको समापन समारोहमा निर्वाणाका सञ्चालकद्धय शशीराम भण्डारी र कल्पना भण्डारीले शुक्रलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्रसहित चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी, क्लबकातर्फबाट अध्यक्ष टिका लिम्बू र निवर्तमान अध्यक्ष तथा वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बूले सम्मान पत्र प्रदान गरेका थिए । युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले नगदसहित सम्मान गरेको निर्वाणा सञ्चालक शशीराम भण्डारीले बताए । ‘युवा प्रतिभालाई प्रोत्साहन मिलोस् भनेर यो सम्मान गरिएको हो,’उनले भने ।

IMG_0133

धरान १९, जिमी मार्गका खेलाडी शुक्रबहादुर नेपालकै नम्वर वान गल्फर हुन् । बल बोइ, क्याडी बोइ हुदै एमेच्योर खेलाडी बनेका २० बर्षीय शुक्रले गत पुष दोस्रो साता धरानमा आयोजित सुर्य नेपाल इष्र्टन ओपनमा ओभरअल च्याम्पियन हुदै एमेच्योरसँगै प्रोफेस्नल ट्रफी पनि कब्जा जमाएका थिए । नेपालका नम्बर वान खेलाडी शिवराम श्रेष्ठलाई पनि पछि परेर ट्रफी जितेका शुक्रको चर्चा थप चुलिएको थियो । उनले दर्जन देशहरुमा अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुदै ट्रफी पनि जितेका छन् ।

IMG_0134