धरान:चर्चित बुढासुब्बा रेडबुल गोल्डकपको आयोजक धरान फुटबल क्लबले २१ औं सँस्करणसम्म आइपुग्दा उपाधि जित्न सकेको छैन । त्यसैले घरेलु मैदानमा उसलाई अभागी टोलीको उपमा दिइने गरिएको छ ।

हुन पनि घरेलु मैदान र हजारौ घरेलु दर्शकको साथ पाएर पनि हरेक सँस्करणमा आयोजक असफल हुदै आएको छ । हुन त ४ पटकसम्म आयोजक फाइनल खेलेको थियो, तर उपाधि उचाल्न सकेन । पछिल्लो पटक ८ औं सँस्करण पछि छ आयोजक सेमीफाइनल पनि पार गर्न सफल भइरहेको थिएन । नेपाली उखान छ, १२ बर्षमा खोलो पनि फर्कन्छ । यसपाली १२ बर्ष पछि आयोजक फाइनल पुगेको छ । आयोजक टिमको यसपालीको बिशेषता के हो भने सबै धराने खेलाडी छन् । त्यसैले अभागी टोलीको दाग मेटाउन यसपाली आयोजकलाई सुनौलो मौका छ ।

Ruslan Ad

आयोजक पहिलो सँस्करणमा नै फाइनल खेलेको थियो तर बुल्गेरिया स्पोर्टिङ क्लबसँग पराजित हुदै उपाधिविहिन बन्यो । दोस्रो र चौथो सँस्करणमा फाइनलमा आयोजकलाई महेन्द्र पुलिस क्लबसँग स्तब्ध बन्यो भने आठौं सँस्करणमा अफ्रिकन युनाइटेडसँग पराजित हुदै उपविजेतामा सिमित बन्यो । त्यसयता सेमीफाइनल पनि पार गर्न नसकेर घरेलु दर्शकलाई निराश बनाएको आयोजक टोली यसपाली फाइनल पुगेको छ ।अब उपाधिको खडेरी टार्न मात्र एक पाइला सार्न बाँकी छ । आयोजकले पहिलो खेलमा डलहाउसी एथलेटिक क्लबलाई २–० ले हराएको थियो भने सेमीफाइनलमा लिग उपविजेता संकटालाई टाइब्रेकरमा स्तब्ध बनाएको थियो ।

IMG_3085

तर, आयोजकलाई फाइनलको चुनौती सहज छैन । गएको साता मात्र मनकामना केवलकार पोखरा कपको उपाधि जितेको डाउफिन्स एफसि, क्यामरुनले नेपाली मैदानमा आफुलाई प्रमाणित गरिसकेको छ । बुढासुब्बामा पनि फाइनल पुगेको डाउफिन्स एक सातामै दोस्रो उपाधि उचाल्ने लक्ष्य राखेको छ । हुन त डाउफिन्सले फाइनल खेल्नुअघि एकदिन पनि आराम गर्न पाएन । उसले शुक्रबारै सेमीफाइनल खेलेर आजै(शनिबार) फाइनल खेल्दैछ । उसको प्रतिद्धन्दी आयोजकले भने एक दिन पुरै आराम गर्न पाएको छ । तर, हिजो सेमीफाइनल जितेपछि प्रशिक्षक ओरेल इनेमले आराम नपाएपनि खेलमा कुनै कमी नहुने भन्दै फाइनलको लागि मनोवल उच्च रहेको प्रतिक्रिया दिएका थिए ।

IMG_0632

डाउफिन्सले पहिलो खेलमा पोखरा कपको फाइनल प्रतिद्धन्दी एपिएफलाई २–० ले हराएको थियो ।सेमीफाइनलमा शुक्रबार सडन डेथमा पुलिस क्लबलाई हरायो । शारीरिकरुपमा अग्ला र वलिया क्यामरुनी खेलाडीहरु आयोजकको लागि टाउको दुखाई हुनेछ । यसअघिका खेलहरुमा पनि अग्ला ज्यानका क्यामरुनीहरुलाई फाइदा पुगेको थियो । उपाधि जित्न क्यामरुनीहरु जस्तोसुकै नाटकीय टेक्निक अपनाउन पनि सक्छन् । त्यसबाट जोगिदै आयोजकले तालमेल गर्नुपर्नेछ, र वलमा नियन्त्रण गुमाउन हुन्न । आयोजकलाई हजारौं घरेलु दर्शकको साथ र घरेलु मैदानले पनि उत्साह मिल्नेछ । आजको फाइनल खेल २ बजे शुरु हुने आयोजकले जनाएको छ ।फाइनलको विजेताले नगद ८ लाखसहित उपाधि ट्रफी पाउनेछ भने उपविजेताले नगद ४ लाख हात पार्नेछ ।