धरान: चैत १४ गतेदेखि धरानमा देबराज एण्ड गौरब स्मृति खुल्ला फुटसल प्रतियोगिता शुरु हुने भएको छ ।

धरान–१५ को ग्याटिक्स गाइज एफसीको आयोजनामा धरान–१५ स्थित विग फुट फुटसलमा प्रतिगोगिता हुने भएको हो । चैत्र १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ३५ वटा टिमको सहभागिता रहने क्लवका उपाध्यक्ष जुदास राईले बताए । ‘करिब ३२ देखि ३५ वटा फुटसल टिमले सहभागीता जनाउने अपेक्षा लिएका छौं,’उनले भने,‘हामीले सबैलाई खबर गरिरहेका छौं, अहिलेसम्म करिब १० वटा टिमले नाम टिपाएको छ ।’ प्रतियोगितामा पूर्वका विभिन्न टिम तथा काठमाडौंका करिब ४ टिमको सहभागीता हुने उनले बताए ।

प्रतियोगिताको विजेताले नगद ७० हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ३५ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी, प्रत्येक खेलको म्यान अफि दि म्याचलाई नगद १ हजार दिइनेछ । प्रतियोगितामा व्याक्तिगत पुरस्कारतर्फ सर्बोकृष्ट खेलाडीलाई नगद ३ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही नगद १ हजार ५ सय दिइनेछ ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत पुरस्कारहरु क्लवसँग आवद्ध विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गर्ने क्लवका अध्यक्ष अनुप लिम्बूले बताए । लिम्बूका अनुसार विजेताको पुरस्कार बेलायतबाट सुनिल सुक्वाबा र सुरज सुक्वाबाले सहयोग गरेका छन् । उपविजेताको लागि अष्ट्रलियाबाट विष्णु लिम्बूले सहयोग गरेका छन् । यसैगरी, व्यक्तिगत पुरस्कारहरुको लागि सिंगापुरबाट सन्दिप तामाङले सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाबाट खर्च कटाएर बाँकी रहेको रकमको ५० प्रतिशत सामाजिक सेवामा खर्च गरिने अध्यक्ष लिम्बूले बताए । उक्त रकम धनकुटा मुलघाटस्थित विश्रान्ती बृद्ध आश्रममा खर्चिने उनको भनाई थियो । ‘प्रतियोगिताको खर्च कटाएर सञ्चित रकमको ५० प्रशित हामी सामाजिक सेवामा खर्चिन्छौ,’उनले भने,‘यसपटक हामी मुलघाटको विश्रान्ती बृद्धा आश्रममा सहयाृग गछौं ।’

क्लबका दिवंगत सदस्य देबराज र गौरबको स्मृतिमा फुटसल आयोजना गरिन लागेको हो । उनीहरुको केही वर्ष अघि निधन भएको थियो । क्लवले पहिलो पटक उनीहरुको सम्झनामा यो प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष लिम्बूले बताए । ‘देबराज र गौरब हाम्रो क्लवको सदस्य हुनुहुन्थ्यो,’उनले भने,‘उहाँहरुको सम्झनामा हामीले यो प्रतियोगिता गर्न लागेको हो ।’