धरान: आठौं राष्ट्रिय खेलकुदमा प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने तीन गल्फ खेलाडी छनौट भएका छन् ।

धरानस्थित पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा दुई दिने प्रदेशस्तरीय गल्फ छनौट प्रतियोगिता आयोजना गरी तीन खेलाडी छनौट गरिएको हो । छनौट प्रतियोगिताबाट शीर्ष ३ स्थानमा रहेका खेलाडीलाई आठौ खेलकुदको लागि छनौट गरिएको नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राईले जानकारी दिए । उनका अनुसार पहिलो स्थानमा युवा गल्फर शुक्रबहादुर राई, दोस्रो स्थानमा निरज तामाङ र तेस्रो स्थानमा बबिन्द्र राई रहदै छनौट भएका छन् । ‘आठौ राष्ट्रिय खेलकुद बैशाख १ गतेदेखि ४ गतेसम्म हुदैछ, प्रदेश १ बाट तीन खेलाडी र एक जना कोच जानेछन्,’केन्द्रीय उपाध्यक्ष राईले भने ।

दुई दिने प्रतियोगितामा ३६ होलको खेल सकिदा शुक्रबहादुरले दुवै दिन समान ५ अण्डर ६५ को कार्ड बनाउदै १० अण्डर १३० स्कोरको साथ प्रथम भए । उनले दोस्रो दिन सोमबार पनि ५ अण्डर ६५ को कार्ड बनाए । यस्तै, दोस्रो स्थानमा रहेका निरजले कुल १ अण्डर १३९ स्कोर गरे । पहिलो दिन २ अण्डर ६८ स्कोर गरेका उनले दोस्रो दिन १ ओभर ७१ स्कोर खेले । यस्तै, तेस्रो स्थानमा रहेका बबिन्द्रले कुल २ ओभर १४२ स्कोर खेले । पहिलो दिन ४ अण्डर ६६ कार्ड बनाएका उनले दोस्रो दिन खराब प्रर्दशन गर्दै ६ ओभर ७६ स्कोर गरे ।

Golf-seelection

गल्फ खेलाडी छनौट प्रतियोगितामा एक ह्याण्डीक्याप भएका कुल २३ खेलाडी सहभागी थिए । पहिलो दिनको खेल सकिदा ९ ओभरसम्मका १३ खेलाडीहरु मात्र दोस्रो दिनको लागि छनौट भएका थिए । नेपाल गल्फ संघको आयोजना तथा सुनसरी जिल्ला गल्फ संघ र धरान गल्फ क्लबको व्यवस्थापनमा छनौट प्रतियोगिता भएको थियो । आठौ राष्ट्रिय खेलकुदको उद्घाटन साविक मध्यपश्चिमाध्यञ्चलको नेपालगञ्जमा बैशाख ५ मा हुदैछ । बैशाख ११ गते समापन हुने राष्ट्रिय खेलकुदको गल्फ प्रतियोगिता भने बैशाख १ गतेदेखि शुरु हुन्छ । आयोजना स्थल नेपालगञ्जमा गल्फ कोर्षको अभावले गल्फ प्रतियोगिता काठमाण्डौंको गोकर्ण रिसोर्ट गल्फ कोर्षमा सञ्चालन हुनेछ ।