धरान:आठौं राष्ट्रिय खेलकुदअन्र्तगत काठमाण्डौंमा सम्पन्न गल्फ प्रतियोगिताको व्यक्तिगत स्पर्धामा १ नं प्रदेशले तीनवटै पदकमा कब्जा जमाएको छ ।

पार ७२ को गोकर्ण रिसोर्ट गल्फ कोर्षमा बुधबार तीन दिनको खेल सकिदा शीर्ष ३ स्थानमा १ नम्बर प्रदेशका खेलाडीहरु रहदै ३ वटै पदकमा कब्जा जमाएको हो । यसअघि, टिम इभेन्टतर्फको स्पर्धामा पनि १ नं प्रदेशको टिमले स्वर्ण जितेको थियो । बुधबार तीन दिनको खेल सकिदासम्म कुल १२ अण्डर २०४ स्कोरको उत्कृष्ट कार्ड बनाउदै टंकबहादुर कार्कीले स्वर्ण पदक जितेका हुन् । उनले पहिलो दिन ५ अण्डर, दोस्रो दिन १ अण्डर र तेस्रो दिन ६ अण्डर खेलेका थिए ।

यस्तै, १ नं प्रदेशकै खेलाडी शुक्रबहादुर राईले कुल ९ अण्डर २०७ स्कोर गर्दै रजत पदक जितेका छन् । उनले पहिलो र दोस्रो दिन समान २ अण्डर खेलेका थिए भने तेस्रो दिन उत्कृष्ट ५ अण्डर खेले । यसैगरी १ नं प्रदेशकै निरज तामाङले समग्रमा ४ ओभर २२० स्कोर गर्दै काँस्य पदक जिते । पहिलो दिन २ ओभर र दोस्रो दिन ४ अण्डर खेलेका उनले तेस्रो दिन भने खराब प्रर्दशन गर्दै ६ ओभर खेलेका थिए ।

golf-medal

व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने कार्कीको घर सुनसरीको बराहक्षेत्र नगरपालिका हो भने रजत र काँस्य जित्ने खेलाडी धरानका हुन् । यसअघि,टिम इभेन्टतर्फ पनि १ नं प्रदेशको टिममा खेलाडीहरु शुक्रबहादुर राई, बबिन्द्र राई र निरज तामाङले स्वर्ण जितेकय थिए । यी तिनै जना खेलाडीहरु सुनसरी धरानका हुन् । उनीहरु धरान १८ स्थित निर्वाणा कन्ट्री गल्फ कोर्षबाट उत्पादन भएका खेलाडी हुन् ।