धरान: बुधबार मध्यराती मात्र १३ दिनको बच्चा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती विभागको एन्टी नेटल वार्डबाट हराए पछि खैलाबैला मच्चियो । मध्यराती १२ बजेतिर हराएको नवजात शिशु केही घण्टा पछि भेटियो, तर यो घटनाले प्रतिष्ठानको सुरक्षा प्रबन्धको कमजोरी छाताछुल्ल भयो ।

शिशुका पिता दिपनारायण र आमा बबिता मेहताले करिब साढे ३ बजेतिर आफ्नो छोरा भेट्टाए । अस्पतालका चिकित्सक र प्रहरीको तत्परताले धरान १५ स्थित बगरकोटकी ४७ बर्षीय मिना लिम्बू बिकको घरबाट बच्चाको सकुशल उद्दार गरिएको थियो । बच्चा मिनालाई उनको नाता पर्ने लिला बिकले दिएर टेम्पुमा हालेर घर पठाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । करिब २७ बर्षीय लिलाको माइती घर धरान ५ देवी गाउँ भएपनि उनको विवाह भारतको नयाँ दिल्लीस्थित फरीदाबाद भएको खुलेको छ । आफ्नो सन्तान नभए पछि बच्चा चोरी गरेको उनले प्रारम्भिक वयान दिएको प्रहरीले जनाएको छ ।

बच्चा पाएको छु भनेर फोटो पहिल्यै पठाएकी थिइन्

crime1_20190711102129

पारिवारिक स्रोतका अनुसार बिकको ४ महिनाको गर्भ तुहिएको थियो । यद्यपी उनले माइती र आफन्तलाई भने आफुले बच्चा पाएको सुनाएकी थिइन् । चोरी भएको बच्चाको फोटो पनि उनले आफन्त र भारतका भएको श्रीमान्लाई पठाएको एक आफन्तले सुनाए । उनी ८, १० दिनदेखि विपी प्रतिष्ठानको गाइनो वार्डतिर नै थिइन् ।

बुधबार राती पनि उनले भाउजु नाता पर्ने मिना लिम्बू(बिक)लाई छोरा घर लगिदिन भन्दै फोन गरेकी थिइन् । उनले आफुलाई चै डेंगु भएकोले हस्पिटलमा नै रहने भन्दै बच्चा मिनाको साथमा पठाइदिएको ती आफन्तको भनाई छ । नाम नखुलाउन आग्रह गर्ने ती आफन्तको भनाई प्रहरीबाट पुष्टि हुन भने बाँकी नै छ । प्रहरीले बच्चा चोरीको घटनामा लिलाको पुर्वयोजना भएको जनाए पनि मिनाको संलग्नता पुर्वयोजना अनुसार भए नभएको अनुसन्धान गर्न बाँकी नै छ ।

फेरि कसैको यस्तो नहोस्

IMG_20190711_170014

बुधबार मध्यराती आमासँगै सुतेको नवजात शिशु एकाएक हराएपछि विपी प्रतिष्ठानमा मात्र होइन, धरानबाट निक्कै टाढा भोक्राहा नर्सिङ गाउँपालिका १ स्थित दिपनारायणको घरमा पनि हलचल मच्चियो । यता अस्पतालबाट बच्चा चोरी हुदा उनी घरमा थिए ।

अस्पतालमा भतिज र दिपनारायणकी साली थिइन् । पोष्ट नेटल वार्डको क्याबिनमा दिदीसँग बहिनी पनि कुरुवा थिइन् । तर, मध्यराती मात्र १३ दिनको शिशु चोरी हुदा कसैले भेउ नै पाएनन् । तत्कालै यो खबर दिपनारायणले पनि सुने । उनी मध्यराती नै धरान हुइकिए । डेढ बजेरित राती नै उनी विपी आए । ‘म राती नै आए, श्रीमति रोइरहेको थियो, बच्चा साढे ३ बजे पायौं,’उनले भने,‘बच्चा भेटेर ढुक्क भयो । यो घटना अप्रिय हो । सबैलाई कानुनी कारबाही होस्, फेरि फेरि यस्तो नहोस् ।’