इटहरी: मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीले प्रदेश १ कै सर्वाधिक राशी रहेको प्रदेश नं. १ स्तरीय नकआउट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीका अध्यक्ष होमनाथ धमलाले फुटसल प्रतियोगिता आयोजनागर्न लागेको हो । प्रतियोगिता असोज १० र ११ गते इटहरी ५ मा रहेको पाथिभरा फुटसल प्रालिमा हुनेछ । प्रदेश १ का १४ वटा जिल्लाका ४० वटा भन्दा बढी टिम सहभागी हुने अनुमान गरिएको छ । गत भदौ ५ गते सुनसरीमा पहिलोपटक गठन भएको मदन भण्डारी स्पोर्टस एकेडेमी गठन भएको थियो । 'हामीले प्रदेश १ भरी ५० वटा टिमलाई पत्राचार गरेका छौँ,'धमलाले पत्रकार सम्मेलनमा भने,'पछिल्लो समय युवाहरुमाझ फुटसल लोकप्रिय रहेकाले यसलाई अझै विस्तार गर्नका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ ।' 

उनका अनुसार खेलमा सहभागी हुने टिमले नगद ५ हजार रुपैँया तिरेर इन्ट्रि गर्नुपर्ने बताए । एकेडेमीका सदस्य तथा प्रेस संयोजक प्रकाश तिम्सिनाका अनुसार खेलको बिजेता टिमले नगद १ लाख १ हजार सहित ट्रफि पाउँनेछ भने उपविजेता टिमले नगद ५१ ह्जार पाउनेछ । प्रतियोगितामा अनुमानित ५ लाख खर्च लाग्ने अनुमान छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने प्रतियोगिता भव्य बनाउने आयोजकले जनाएको छ । प्रत्येक जिल्लामा १ सय बढी खेलाडी उत्पादन गर्नका लागि अहिले प्रशिक्षण दिईँदै आएको आयोजकले जनाएको छ ।