धरान: सबैतिर दशैंको रौनक छ । यस्तो बेला खेल क्षेत्र पनि कसरी अछुतो रहन सक्छ र ? १ नं प्रदेशको धरानमा भएको एक मात्र गल्फ कोर्षमा दशैं कप गल्फ प्रतियोगिता आयोजना हुदैछ ।

धरान १८ स्थित निर्वाणा गल्फ कोर्षमा शनिबार तेस्रो दशैं कप हुने आयोजक धरान गल्फ क्लबले जानकारी दिएको छ । यो प्रतियोगिता धरान १८ का वडाअध्यक्ष प्रविण राईको प्रायोजनामा बर्षेनी हुदै आएको छ । प्रतियोगितामा ३० जना पुर्वका एमेच्योर गल्फरहरु सहभागी हुने शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबका सचिव जितेन्द्र राईले जानकारी दिए । ‘दशैं कप धरान १८ का वडाअध्यक्ष प्रविण राई ज्यूको प्रायोजनमा हुन्छ,’उनले भने ।

प्रत्येक महिना गल्फ प्रतियोगिता हुने

धरानस्थित गल्फ कोर्षमा दशैं कपसँगै गल्फ प्रतियोगिताको नयाँ सिजन शुरु हुनेछ । यो सिजनमा विभिन्न ८ वटा प्रतियोगिताहरु प्रत्येक महिना आयोजना गरिने क्लबका अध्यक्ष टिका लिम्बूले जानकारी दिए ।

शनिबार दशैं कप आयोजना भएपछि २६ अक्टोवरमा तिहार कप हुने क्लबले जनाएको छ । यो पछि २३ नोभेम्बरमा हाल बेलायतमा रहेका धरान १९ निवासी किरण सुब्बाको प्रायोजनमा पिग कप हुनेछ । यस्तै, २१ डिसेम्बरमा धरान उपमहानगपालिकाको प्रायोजनमा मेयर कप आयोजना हुने भने ३० जनवरी २०२० मा इन्द्र बराह कप हुनेछ । यसैगरि, २९ फ्रेबुअरी २०२० मा वडा नं १७ को प्रायोजनमा प्रेसिडेन्ट कप र वडा नं १९ को प्रायोजनमा २१ मार्चमा चियरमेन कप हुने छ ।

डिसेम्बर २०२० मा बार्षिक गल्फ टुर्नामेन्ट आयोजनासँगै सिजनको अन्त्य हुने क्लबका कोषाध्यक्ष राजु राईले बताए । प्रतियोगिता सामान्य भए पनि खेलाडीहरुले खेल्ने र आफ्नो खेल प्रतिभा उजागर गर्ने अवसर पाउने भएकोले क्लबले प्रायोजन खोजेर आयोजना गरिएको उनले बताए ।