धरान: नेपालकै धेरै सहभागिता हुने मध्येमा पर्ने धरान १० के रन ८ औं नेवा च्यारिटी २०७६ को तयारी शुरु गरिएको छ ।

आगामी फागुन १० गते धरानमा हुन लागेको दौडको प्रचार एवं प्रर्वद्धनको लागि धरानका युवाहरुले १८ किलोमिटर दौडिएका छन् । धरानको यलम्बर पार्कदेखि चतरास्थित नयाँ कोशी पुलसम्म दौडिएका थिए । धरानमा विगत ७ बर्षदेखि हरेक शनिबार बिहान यलम्बर पार्कदेखि ३.५ किलोमिटर दौड आयोजना हुदै आएको छ । सोही धरान रनको नेतृत्वमा १० के रनको प्रर्वद्धनको लागि शनिबार ४२ जना युवाहरु कोशी पुलसम्म दौडिएका हुन् ।

धरान रनका अध्यक्ष रमु राईका अनुसार १० के रनको प्रमोशनको लागि चतरासम्म दौड गरिएको हो । ‘हामी धरान १० के रन नेवा च्यारीटीको तयारीमा जुटेका छौं, दौडको लागि अनलाईन दर्ता फारम पनि खुला भएको छ,’उनले भने । गत संस्करणमा ३ हजार ५ सय बढी दौडिएका थिए । यसपाली ४ हजार सहभागीहरुलाई दौड गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

2 1

प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाहरुले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार पाउनेछन् । शिक्षाको लागि दौड नारा दिएको कार्यक्रमबाट संकलन भएको रकमले विपन्न तथा असहाय बालबालिकाहरुको शिक्षामा लगानी गर्ने गरेको छ । विपन्न बालबालिकाहरुको शिक्षाको लागि संस्थाले नेवा एजुकेशन फण्ड स्थापना गरेको छ । उक्त फण्डमार्फत संस्थाले २४ जना बालबालिकाहरुलाई पढाउदै आएको छ ।

6