आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ। सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। 
आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलताका लागि नयाँ योजनाको सङ्कल्प गर्दछन्। 
यस अवसरमा आज बिहानै स्नान गर्ने, घर-आँगन सफा गर्ने, मन्दिर दर्शन गर्ने , मीठो मीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ।
नेपालमा विसं १३५ देखि शक संवत्, विसं ६३३ देखि मानदेव संवत्, विसं ९३६ देखि नेपाल संवत् चलेको हो। विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलो पटक 'वि.सं' को प्रयोग गरेको लिखित दस्ताबेज फेला परेको छ। विक्रम संवत्‌लाई पहिले 'कृत' 'मालव' 'मालव गर' आदि नामले पनि चिनिन्थ्यो। 
वास्तवमा सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत् नै विसं हो।  विक्रमको अर्थ 'पराक्रम' र 'आदित्य' को अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत् भनिएको हो। अर्थात् राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो । 
यस वर्षको संवत्‍सरको नाम 'नल' हो। संवत्सरको फल अनुसार यो वर्ष मध्यम रहेको छ ।विश्व ब्रह्माण्ड सञ्चालन गर्ने ग्रह परिषद् अनुसार यस वर्ष राजा शनि, प्रधानमन्त्री गुरु  रहेका छन्।
राजा शनि भएका कारण विविध रोगको प्रकोप बढ्ने र सामाजिक दुष्टता बढ्ने छ। तर सुयोग्य मन्त्री गुरु भएका कारण शुभ फलमा केही वृद्धि हुनेछ। 
विशाखा नक्षत्रमा पूर्णिमा भएको महिनालाई वैशाख, ज्येष्ठ नक्षत्रमा पूर्णिमा परेको महिनालाई जेठ, पूर्वाषाढामा पूर्णिमा भएको महिनालाई असार, श्रवण नक्षत्रमा पूर्णिमा भएको महिनालाई साउन, पूर्वभाद्रपदा नक्षत्रमा पूर्णिमा भएको महिनालाई भदौ, अश्विनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई असोज, कृतिका नक्षत्रमा पूर्णिमा भएको महिनालाई कात्तिक, मृगशिरा नक्षत्रमा पूर्णिमा भएको महिनालाई मङ्सिर, तिष्य नक्षत्रमा पूर्णिमा भएको महिनालाई पुस नामकरण गरिएको हो ।
यसै गरी मघा नक्षत्रमा पूर्णिमा भएको महिनालाई माघ, पूर्व फाल्गुनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई फागुन र चित्रा नक्षत्रमा पूर्णिमा भएको महिनालाई चैत नामकरण गरिएको हो।