धरान : धरानमा अन्तर वडा स्तरीय मेयर कप फुटसल प्रतियोगिता हुने भएको छ ।

धरान भेट्रान फुटबल क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही वैशाख ८ र ९ गते फुटसल प्रतियोगिता हुने भएको हो । धरान–८ स्थित हाम्रो फुटसलमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ३१ हजार १ सय र उपविजेतालाई ६५ हजार १ सय नगद पुरस्कार दिइने प्रतियोगिताका संयोजक रवि राईले सोमबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिए । त्यसैगरी विधागततर्फ वेस्ट प्लेयरलाई ५ हजार, वेस्ट किप्परलाई ५ हजार र हाइस्कोरलाई ५ हजार नगद पुरस्कार पनि दिइनेछ ।

प्रत्येक टोलीमा २ जना अफिसियल सहित १२ जना रहने आयोजकले जनाएको छ । धरानमा पहिलो पटक सेभेन साइज फुटसल कोर्टमा वडा स्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन सम्बन्धित वडाकै खेलाडी हुनुपर्ने अनिवार्य सर्त रहेको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक रवि राईका अनुसार धरानलाई फुटसल खेलाडीको उत्पादनका निम्ति वडा स्तरीय प्रतियोगिता गर्न लागिएको हो । उनले भने हामीले पोखरामा सम्पन्न राष्ट्रिय फुटसल प्रतियोगितामा तेस्रो भएको भन्दै फुटसल खेलमा धरानको सम्भावना राम्रो रहेको छ । 

प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको र विभिन्न वडाले टिम दर्ता गर्ने प्रक्रिया चलिरहेको पनि आयोजकले जानकारी दिएको छ । छोटो तयारीमा प्रतियोगिता सम्पन्न गर्न लागिएको भए पनि खेलाडीहरूले चासो दिएकोले प्रतियोगिता सफल हुने पनि आयोजकले विश्वास लिएको छ ।