धरान : नेपाली काँग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले नेकपा एमालेले चुनाव अघि नै पराजित मानसिकता प्रदर्शन गर्न थालेको बताएका छन् । सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रामक, चरित्रहत्या गर्ने प्रयासले एमालेहरूले पराजित मानसिकता प्रदर्शन गर्न थालेको उनले आरोप लगाएका हुन ।
एक टेलिभिजन कार्यक्रमका लागि धरानमा मेयरका उम्मेदवारहरू सँगको कुराकानीमा सुनियोजित रूपमा युवा सङ्घका कार्यकर्ताले गठबन्धनका मेयरको उम्मेदवार किशोर राईसँग अनावश्यक प्रश्न गरेको बताउँदै उनले भने ‘गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले दिएले जवाफको सबै भाग काटेर सानो अंश मात्र राखी जनतामा भ्रम छर्न मेयर तिलक राई समेतको चरित्रहत्या गर्न खोजिएको देखियो ।’ यस्तो प्रचार एमालेको पराजित मानसिकताको उदाहरण  भएको उनले बताए।
पाँच दलीय गठबन्धनको चुनावी प्रचार समिति गठनका लागि बुधवार होटेल सेछमा बसेको संयुक्त बैठकमा उनले उक्त कुरा बताएका हुन। सभापति पोखरेलले स्वर्गीय मेयर तारा सुब्बाको निधन पछि कार्यवाहक मेयर मञ्जु भण्डारीबाट भएका कामहरू जगजाहेर भएको अवस्थामा त्यसलाई ढाकछोप गरी ओझेलमा पार्न एमालेले गलत हत्कण्डा अपनाउन थालेको उनको भनाई थियो ।
उनले भने ‘उपनिर्वाचनमा नेपाली काँग्रेसले ऐतिहासिक विजय हासिल गर्दै मेयर तिलक राईको कार्यकालमा भएको उपलब्धिहरूबाट अत्तालिएको एमालेको हत्कण्डाले चुनाव अघि नै पराजित भएको सङ्केत दिएको छ ।’ बैठकमा नेकपा माओवादी केन्द्रका युवा नेता अशोक राईले एमालेको प्रतिगामी प्रवृत्ति विरुद्ध पाँच दलीय गठबन्धन भएको बताउँदै  चुनावको परिणामले यसको दह्रो जवाफ दिने बताए ।
बैठकले सभापति पोखरेल संयोजक, प्रेस सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे सहसंयोजक रहेको ३६ सदस्यीय गठबन्धन चुनावी प्रचार समिति गठन गरेको छ। समितिलाई जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका पदाधिकारी, सदस्य थप गरी पूर्णता दिने निर्णय गरिएको छ। प्रचार समिति अन्तर्गत विभिन्न विधाका प्रचार माध्यमका उपसमितिहरू गठन गर्ने निर्णय पनि गरिएको छ ।