धरान : आज वैशाख पूर्णिमा अर्थात् २५६६ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् मृत्यु वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । भगवान् गौतम बुद्धको जन्म भएको आजको दिनलाई वैदिक एवम् बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीका रूपमा मनाउँछन् । ईशापूर्व ५६३ मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो । बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिर लगायत देशभरका बौद्ध बिहार तथा गुम्बाहरूमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रही आएको छ।
चण्डी पूर्णिमा, उँभौली पर्व
वैशाख पूर्णिमादेखि झण्डै १५ दिनसम्म बर्सात राम्रो भई अन्नपात सप्रियोस् भनी कामना गर्दै साकेला उभौली चण्डी नाचेर मनाइन्छ। अरू समुदाय वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती मनाइरहेका बेला किरात समुदाय सुँगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उभौली पर्व भव्य रूपमा मनाइरहेका हुन्छन्। यस दिन किरात समुदायका राई, लिम्बु, याक्खा, सुनुवारहरू आदी किराँतहरू साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावा लस्करसहित भेला हुन्छन्।
आज धरानको विजयपुरमा स्थित बुढासुब्बा मन्दिरमा बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। आज बुढासुब्बालाई  कुखुरा हाँस, सुँगुरको बली दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जातजातिहरूले आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको हुनाले आजको दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्न आन्तरिक तथा बाह्य भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।