धरान : निर्वाचन अधिकृतको कार्यालय धरानबाट लौरो चुनाव चिन्ह पाएपछि २७ बुँदे अपिल तथा प्रतिबद्धता सार्वजनिक गरेका धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले प्रतिवद्धतापत्रमा उल्लेख भएका बिषयलाई कार्यान्वयन गर्न सपथ खाएकै दिनदेखि खरो उत्रिएका छन् । 

धरानका मतदाताको मन जित्दै २० हजार ८२१ मत पाएर मेयर निर्वाचित भएका हर्कराजले सपथ खाएकै दिन सोमबार धरानमा धारामा पानी नआउने र बिजुली नआउने समस्यालाई सम्बोधन गर्न यस्ता बिषयमा समस्या भए सिधै आफ्नो मोबाइलमा फोन गर्न धरानबासीलाई अपिल गरेका छन् ।

'पानी नआउने, लाइन नआउने, बेथिति र अनियमिता भएको अवस्था छ भने मलाई डाइरेक्ट कल गर्नुहोला । ९८१९०१२३७२/९७४६९६५१९८ तपाई‌को सेवक- जय धरान' उनले आफ्नै फेसबुक पेजमार्फत जारी गरेको अपिलमा भनेका छन् ।

मेयर साम्पाङले त्यतिबेलै आफूले जनताको दुख पिडा बोलेर हिंडेको र अब जनताको आँसु पुछ्ने र घाउमा मलम लगाउने ठाउँमा पुर्‍याइदिन सादर अनुरोध भन्दै जारी गरेको अपिल तथा प्रतिवद्धता पत्रमार्फत धरानबासीसँग मत मागेका थिए । उनले धरानको पिउने पानीको समस्यालाई उक्त प्रतिवद्धताको पहिलो नम्बरमै उल्लेख गरेका थिए । 

२७ बुँदे प्रतिवद्धताको १७ नम्बरमा धरानमा विद्युतको अटुट सेवा, अनावश्यक शुल्क कटौति, विद्युतको पोल सार्दा लाग्ने शुल्क कटौति लगायतका प्रतिवद्धता सार्वजनिक गरेका थिए। मेयर पदको सपथ खाएर पद बहाली गरेकै दिन साम्पाङले प्रतिवद्धता अनुसारका काम गर्ने जागरुकता देखाउँदै पानी र बिजुली सम्बन्धमा आइपरेका समस्या सिधै आफ्नो मोबाइलमा जानकारी गराउन आग्रह गरेका हुन् ।

मेयर बन्नुअघि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उनले धरानमा अव्यवस्थित तार व्यवस्थापनदेखि बाँदर व्यवस्थापनसम्म, शौचालय र फोहोर व्यवस्थापन, युवा बचाउ अभियान, उपभोक्ताको अधिकार, महंगी नियन्त्रण, सुकुम्बासी व्यवस्थापन, उपमहानगरपालिकाको प्रशासनिक सेवाको सुधार लगायतका बिषय उल्लेख गरेका थिए।