धरान : धरानका नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ) सामाजिक सञ्जालमा निकै सक्रिय छन् । मेयरमा निर्वाचित हुनु भन्दा पूर्व फेसबुकमा निकै सक्रिय साम्पाङ पछिल्लो समय मेयर भएपछि पनि सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छन् । उनले समय समयमा 'हर्क साम्पाङ अ रिभुलुसन' पेजमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै आएका छन् । यो क्रममा कतिले स्याबासी त कतिले यसरी मेयर सामाजिक सञ्जालमा सक्रिय हुनुहुँदैन भनेर सुझाव दिने गरेका छन् । 

मेयर साम्पाङले पछिल्लो समय “धरानको रक्षा र उन्नति गर्छु भन्दा मान्दैनन् भने जनतालाई फैसला गर्न छोडिदिनेछु ! जनताले जे चाहन्छन् त्यही होस् ! जय धराने जनता ! भन्ने गम्भीर स्टाटस त्यही पेजमा पोस्ट गरेका छन् । 

नव निर्वाचित मेयर साम्पाङ निर्वाचित भएपछि कार्यालयमा कम, बढी फिल्डमा हुने गर्दछन् । फिल्डमा देखेका र भोगेका कुरा फेसबुकमा लेख्ने गर्दछन् । २६ गते  बिहीबार दिउसो २ बजे बस्ने कार्यपालिका बैठकपूर्व मेयरको यो भनाइले के प्रस्ट हुन्छ भने मेयरले जेठ २३ गतेको कार्यपालिका बैठकमा नदीजन्य बस्तुको उत्खनन सम्बन्धमा निकास निस्कन नसकी स्थगित भएको बैठकको एजे्ण्डाको बारेमा आन्तरिक सहमति हुन नसके पछिको मेयरको आशय हुन सक्छ । मेयर साम्पाङले नदीजन्य बस्तुको उत्खननमा ठेक्का नलगाउने र धरानमा चाहिने जति मात्रै उत्खनन गर्ने अडानमा उनी अडिग रहे । तर अरू कार्यपालिका सदस्यहरूले भने खोलाको कटान र अवस्था हेरेर धरान उपमहानगरपालिकाको आम्दानीको लागि ढुङ्गा गिट्टी बालुवा निकासी गर्नुपर्ने धारणा राखेका थिए । यसरी मत बाझिए पछि कार्यपालिका बैठक स्थगित भएको थियो । 

बिहीबारको कार्यपालिका बैठक त्यही प्रस्तावबाट सुरु हुने भएकोले यही प्रस्तावमा सहमति हुन नसकेकोले यस्तो गम्भीर स्टाटस मेयरले लेखेको हुन सक्ने अनुमान नगरवासीले गरेका छन् ।

मेयर साम्पाङले अर्को पनि स्टाटस लेखेका छन्–पैसा बाँडेर, हावा तालको गफ लाएर चुनाव जित्ने दिन गयो ! आउँदा प्रदेश र सङ्घका चुनावमा स्वतन्त्र उम्मेद्वारहरुलाई समर्थन गर्नेछौँ ! अब दास प्रथाको अन्त्य गरिछाड्ने हो ! यसैगरी उनले पछिल्लो समय अर्को पनि स्टाटस यस्तो लेखेका छन् – (आ–आफ्नो कर्म गरौँ... )

तिमी फोहोर गरिराख म सफा गरिरहनेछु ! 

आखिर तिम्रो फोहोर सोर्ने कसम जो खाको छु !

तिमी भत्काउँदै गर म बनाउँदै जानेछु ! 

आखिर बचाउने र बनाउने कसम जो खाको छु !

तिमी नष्ट गर्न जन्मेको म रक्षा गर्न ! 

आ-आफ्नो काम गरौँ ! 

समीक्षा ईतिहाँसले गर्ने नै छ ! 

व्यर्थ बहस नगरौँ ! वश आ–आफ्नो कर्म गरौँ !

तिमी मलाई घृणा गर तर म तिम्रो अस्तित्वलाई माया गर्नेछु !

किनकि तिमी छौ र त म छु ! कालो छ र त सेतो पनि !

तिमी खराब होइनौ र म पनि !

हामी छौँ त वश एक अर्का देखि भिन्न छौँ ! परिवेशले भिन्न... स्वभाव र नियतिले भिन्न...

यसरी समय समयमा सामाजिक सञ्जालमा सक्रिय मेयरको यो कार्यको धेरैले राम्रो माने पनि कार्यालय समयमा काम लिएर पुगेका सर्वसाधारणले मेयरको कार्यकक्षमा नभेट्दा दुखी हुने गरेका छन् । सर्वसाधारणको गुनासो छ कार्यालय समयमा कार्यालयमा बस्ने र अरू समय जनताको समस्या बुझ्न निस्किनुस् मेयर शाव ।