धरान : 'मानो रोपेर मुरी उब्जाउने' महिनाको आज मध्य दिन अर्थात् असार १५ गते, आज नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।  

नेपाल कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती नै हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपछुप हिलोमा धान रोपिन्छ । 'छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला' जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । 

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण रहेको छ । शुभ कार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा रहेको छ र  शुभकामना निस्कनुअघि सगुनका रूपमा  दही खुवाएर बिदा गरे शुभ फल प्राप्त हुने सांस्कृतिक मान्यता रहेको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन प्रणालीलाई पनि  शक्ति प्रदान गर्दछ । 

जेठमै राखेको धानको बिउलाई असार लागेपछि रोप्न थालिन्छ । खाद्यवालीमा वर्ष बाली मानिने धान नेपालभरि नै लगाइन्छ । आज देशभर रोपाई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै छ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसङ्घले समेत सन् १९६६ लाई धान बाली वर्षका रूपमा मनाएको थियो ।

असारमा गरिने धान रोपाँईमा धेरै जनशक्ति अर्थात् खेताला र जनको आवश्यक पर्दछ । त्यही भएर गाउँघरमा पालैपालो पर्म लगाई रोपाई गर्ने प्रचलन रहेको छ । यसरी पालैपालो रोपाँईगर्दा सामाजिक एकता र सद्भावको बढोत्तरी हुन्छ । असार पन्ध्रका दिन अझ विशेष प्रकारले ठुला–ठुला रोपाई गरिन्छ । यस्तो रोपाँईमा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने  चलन पनि रहेको छ ।

नेपालको राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन तथा रोजगारीको क्षेत्रका रूपमा समेत धान खेतीलाई प्रमुख मानिन्छ । नेपालमा वार्षिक १.५ अर्ब रुपैयाँ बराबरको धान तथा त्यसका उपउत्पादनहरू प्राप्त हुने गर्दछ ।कृषिबाट प्राप्त हुने कूल ग्रार्हस्थ उत्पादन (जिडिपी) मा धानको योगदान करिब २० प्रतिशत रहेको छ । नेपालमा खेती गरिने कूल क्षेत्रफल मध्ये ४७.५ प्रतिशत जमिनमा धान खेती गरिन्छ । जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी रहेको छ । नेपालमा वर्षेनी २४ अर्ब बढीको चामल भारतबाट आयात हुने गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लगायतका कृषिसँग सम्बन्धित संस्थाहरूले असार १५ गतेलाई धान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । सरकारले आजको दिनलाई विशेष दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधिको पहुँच आम किसानमा नभएका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्धि हुन नसकेको कृषि विज्ञहरूको भनाई छ ।

Ashar-15