धरान : पछिल्लो समय धरानका मेयर हर्क साम्पाङ दिनमा एक पटक कार्यालय समयमै सर्दु, खर्दु र निशाने खोला पुग्छन् । 

धरानको खानेपानी समस्यालाई समाधान गर्नका लागि पछिल्लो समय पकुवा खोला पछि मेयर साम्पाङको अभियान धरानको सर्दु, खर्दु र निशाने खोलामा सरेको छ । निशाने खोलामा अढाई देखि ३ लाख लिटर सम्मको खानेपानीको रिजर्भ टङ्की बनाउनका लागि अहिले धमाधम खोलाको दोभानमा सोइल टेस्टको लागि मेसिनले ड्रिल गर्ने काम बिहीबार देखि सुरु भएको छ ।

दुई तीन दिनमा निशाने दोभानमा ४० फिट भित्रको माटो निकालेर टेस्ट गरिने र त्यसपछि कस्तो संरचनाको खानेपानीको टङ्की बनाउने भन्ने निक्र्याैल हुने धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले बताए । 

यसैगरी निशाने खोलाको दोभान नजिकै पश्चिम पट्टी अहिले मिनी हाइड्रो पावरकोलागि टर्बाइन जडान गर्ने पावर हाउस बनाउनका लागि पनि धमाधम काम भइरहेको छ। यहाँ सर्दु खोलाको पानीबाट ६ देखि ७ हजार वाट क्षमताको बिजुली उत्पादन हुने प्राविधिकहरूले बताएका छन् । यसका लागि पूर्वाञ्चल इन्जिनियर क्याम्पससँग समन्वय गरेर काम भइरहेको छ । 

अहिले सर्दु, खर्दु र निशाने खोलामा खानेपानीको लागि मेयर हर्क साम्पाङको अभियान अन्तर्गत धमाधम काम भइरहेको छ । शनिवार हजारौँ र अरू बेला पनि कम्तीमा सयको हाराहारीमा धरान र धरान बाहिरबाट स्वतःस्फूर्त श्रमदान भइरहेको छ । 

सर्दु, खर्दु र निशाने खोलाको सबै काम कुनै पनि सरकारी योजना र बजेटबाट बनिरहेका छैनन् । सबै श्रमदान र सहयोगबाट भइरहेको हो । त्यसैले मेयर हर्क साम्पाङ जति नै व्यस्त भए पनि दिनमा एक पटक सर्दु, खर्दु र निशाने खोलामा पुग्ने गरेका छन् । उनी त्यहाँ पुगेर अनुगमन गर्ने मात्रै होइन आफै बेल्चा र गैँती चलाएर श्रमदान पनि गर्ने गरेका छन् । यसरी मेयर आफैले श्रमदान गर्दा मेयर साम्पाङको अभियानमा सक्रिय भई श्रमदान गरिरहेकाहरूमा थप ऊर्जा थपिने गर्दछ । धरानमा पछिल्लो समय मेयर साम्पाङको अभियानमा सयौँ, हजारौँको सहभागिता हुन थालेको छ । 

Sardu-2Sardu-1