धरान : कोरोना महामारीको कारण दुई वर्ष स्थगित भएको नेवार समुदायको सांस्कृतिक नाच लाखे जात्रा मंगलबार देखि धरानमा सुरु भएको छ । 

धरानमा बसोबास गर्ने नेवार समुदायमा हरेक वर्ष नाग पञ्चमीको दिन देखि कृष्णअष्टमीको भोलि पल्ट सम्म लाखे नाच्ने परम्परा रहेको छ । नागपञ्चमीको दिन धरानका नेवारहरूले धरानको सिंहदेवी चौकमा रहेको सिंहदेवी मन्दिरमा विधिवत् पूजा गरी लाखे नाच सुरु गर्ने गर्दछन् । 

नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । 

धरानमा लाखे नाच देखाउन १५ समूह सूचीकृत 

पछिल्लो समय लाखे नाचको नाममा विकृति बढ्दै गएको र लाखे नाचको नाममा पैसा उठाउने जस्ता क्रियाकलाप बढ्न थालेको भन्दै नेवा: देय् दबूँ धरान उपमहानगर समितिमा दर्ता भएर सूचीकृत भएका लाखे समूहले मात्रै लाखे नाच देखाउन पाउने भएका छन् ।

यसका लागि पहिलो दिन धरानको सिंहदेवी मन्दिरमा मंगलबार १५ समूहले आफ्नो नाम दर्ता गराएर सूचीकृत गरेको दबूका धरान नगर अध्यक्ष मनोहर शाक्यले बताए । दबूमा नाम दर्ता गराउने अवधि लाखे नाच भरी रहने भन्दै अध्यक्ष शाक्यले भने 'दबूमा दर्ता नगरी लाखे नाच देखाइएमा कारबाही गरिनेछ ।

Suchana