झापा : सवारी दुर्घटना मध्येको प्रमुख कारक मापसे गरी सवारी चलाउनु रहेको ट्राफिक प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले प्रष्ट पारेको छ । मादक पदार्थ सेवन गरी लापारवाही पूर्ण ढङ्गले सवारी साधन चलाउनाले दुर्घटनाको सङ्ख्या दिनानुदिन बढ्दो छ। 
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार प्रदेश १ को विगतको तथ्याङ्क र अहिलेको तथ्याङ्कलाई अध्ययन गर्दा अधिकांश सवारी दुर्घटनाको मुख्य कारण चालकले मदिरा सेवन देखिएको छ । 
प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो ३ वर्षयता मात्रै मापसेका कारण ७ सय ४४ वटा सवारी दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७६/७७ मा ८६, २०७७/७८ मा ३ सय १६ र २०७८/७९ मा ३ सय ४२ वटा दुर्घटनाको मुख्य कारक नै मापसे गरी सवारी चलाएका कारण भएको पाइएको छ । 
ट्राफिक व्यवस्थापन गर्ने कार्यमा खटिने ट्राफिक प्रहरीले समय समयमा चेकजाँच समेत गर्ने गरेका छन् । तर पनि मापसेका कारण सवारी दुर्घटना हुने क्रम बढी रहेको छ । चेकजाँचका क्रममा पनि कारबाही स्वरूप रसिद काटिने वा सुझाव दिएर छोडिने गरेका कारण पनि मापसे गरेर सवारी चलाउने क्रम नरोकिँदा दुर्घटना हुने क्रम बढी रहेको दुर्घटना न्यूनीकरणको अभियान चलाइरहेका जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम बताउँछन् । 
पछिल्लो ३ आर्थिक वर्षमा प्रदेश १ भरी भएका ८ हजार २ सय ७३ वटा दुर्घटनामध्ये २ हजार १ सय ८० वटा दुर्घटना चालकको लापारवाहीका कारण भएका छन्। जुन प्रदेश १ भरमा पछिल्लो ३ वर्षयता भएका कुल दुर्घटना सङ्ख्याको २६ प्रतिशत भन्दा बढी देखिन्छ । यस्तै यात्रुको गल्तीले ८ सय २, ओभरटेकका कारण २ सय ९७ वटा दुर्घटना भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको ३ वर्षको तथ्याङ्क हेर्दा चालकको लापरबाही कै कारण बढी मात्रामा दुर्घटना हुने गरेका छन् ।