झापा : विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समयमा १-१ को बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको थियो ।
सडनडेथमा एपिएफले बङ्गलादेशी टोलीलाई ९-८ ले पराजित गरेको थियो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुपर्यो । उनको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए । जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मच्छिन्द्र क्लबसँग आइतबार खेल्नेछ । खेलमा सुरुवाती अग्रता भने काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशले लिएको थियो । खेलको २१ औँ मिनेटमा बङ्गलादेशका साएरले गोल गरे । उनले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुमाएको थियो ।
दोस्रो हाफपछि एपिएफ आक्रामक बन्यो । ७२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा फर्काए । काउवार्नका गोल किपर कोबिजबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरे । शुक्रवारको खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । 
शनिवारको पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबिच हुने आयोजकले जनाएको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिनेश ढकालले जानकारी दिए । 
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।