धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानबासीका लागि चलाएको खानेपानी अभियान सकारात्मक भएपनि आर्थिक कारोबार विधि, प्रक्रिया सम्मत नभएको भनि प्रश्न उठिरहेकाले त्यसलाई पारदर्शी बनाउन राजनीतिक दलहरू सम्बद्ध युवाहरूका ४ सङ्गठनले ध्यानाकर्षण गराएका छन् ।

नेपल तरुण दलका उपाध्यक्ष विक्रम तामाङ, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष भवानी भक्त दाहाल, वाईसिएल नेपालकी प्रदेश कमिटी सदस्य उषा परियार, लिम्बुवान युवा मञ्चका अध्यक्ष रमेश राई, समाजवादी युवा सङ्गठनका अध्यक्ष रञ्जित राईको नेतृत्वमा युवाहरूको जुलुस सहित उपमहानगरपालिका गएर मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

आठ बुँदे ध्यानाकर्षण पत्रमा ४ वटा बुँदा खानेपानीको विषयमा केन्द्रित छन् । दुई वटा वुँदा मेयर र वडाध्यक्षहरू बिचको विवाद तथा कार्यपालिका बैठक स्थगनकाका बारेमा र एउटा बुँदामा धरान-इटहरी सिमानाका बारेमा पछिल्लो पटक उत्पन्न विवादका विषयमा ध्यानाकर्षण गराएका छन् ।

खानेपानी समस्या समाधानकालागी भइरहेका कामहरू सकारात्मक भएको उल्लेख गर्दै पत्रमा कोकाह, सर्दु, खर्दु, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरू र कानुनी प्रक्रिया, सहमति र समग्र परियोजनाको आधारहरू के के हुन ? भनि प्रश्न गर्दै त्यसलाई सार्वजनिक गर्न माग गरिएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डमा नगर प्रमुखको हैसियतमा सदस्य भएकाले बोर्डले हालसम्म गरेका कामहरूको वैधानिकता के हो ? बोर्डको बैठक नबसी हालसम्म गरेका करोडौँ खर्च कसरी गरिरहेको छ ? खानेपानीको विभिन्न परिजनाहरुका सन्दर्भमा कस्ता कस्ता निर्णयहरू भएका छन् ? बोर्डको आयव्यय विवरण सार्वजनिक गर्ने काम अहिलेसम्म किन भएन ? बोर्डको अध्यक्ष अहिलेसम्म किन चयन गर्न सकिएन ? प्रश्न गरिएको छ ।

कोकाह र पकुवाको पानी ल्याउन चालिएको अभियानको लागि पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरूको नाम अहिलेसम्म सार्वजनिक किन हुन नसकेको कारण बारे पनि प्रश्न उठाएको छ ।

धरानको खानेपानीको लागि दाताहरूले दिने सहयोग रकम वाणिज्य बैङ्कको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट नगर प्रमुखको हैसियतले मेयर साम्पाङकै प्रस्ताव पारित गरी खाता नम्बर समेत सार्वजनिक गरिएको थियो ।

तर संस्थागत बैङ्क खातामा रकम जम्मा नगरी व्यक्तिगत रूपमा रकम ग्रहण गर्नु र विवरण समेत सार्वजनिक नगर्नु भ्रष्टाचार हो कि होइन ? भनि प्रश्न गर्दै अरूलाई पारदर्शीताको पाठ सिकाउनेले मेयर साम्पाङलाई पारदर्शी हुन आग्रह गरिएको छ ।

कार्यपालिका बैठक नबसेको डेढ महिना नाघेको छ । बैठक नियमित हुन नसक्नुको मूल कारण के हो र को-को हो ? भनि वडाध्यक्षहरू हुन की मेयर भन्ने प्रश्न गरिएको छ । वडाका अध्यक्षहरू पनि निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरू हुन् ।

वडा अध्यक्षहरूलाई अख्तियारको दुरुपयोग गर्दै पत्र काटेर निर्देशन दिने मेयरका सचिवालयका सदस्यलाई के कारबाही गरियो भनि प्रश्न गर्दै मेयरकै निर्देशनमा गलत कार्य भएको हो भने ‘माफी माग्नुभयो ?’ भनि प्रश्न गरिएको छ ।

सोही कारण नियमित कार्यपालिकाको बैठक अवरोध हुनु, धरानको विकासका समग्र प्रक्रियामा अवरोध आउनु, धरानका बारेमा नकारात्मक सन्देश प्रवाह हुनुमा प्रमुखको हैसियतमा आफ्नो पनि दोष छ भन्ने सोँच मनमा आउँछकी आउँदैन ? भनि प्रश्न गरिएको छ ।

पूर्ववर्ती नगर प्रमुखहरू भएकै समयदेखिको धरान र इटहरीको सिमा विवाद चाँडै किनारा लगाउनु पर्छ । तर, यो काम अघि कार्यपालिकाका सबै सदस्यहरूलाई जानकारी गराइएको छ छैन ? प्रश्न गरिएको छ ।

यसअघि पनि सिमा विवाद भएको र त्यसबेला दुई उपमहानगरबिच भएको समझदारीको ख्याल किन नगरिएको र उपमहानगरपालिका तर्फबाट दलहरू, पूर्व जनप्रतिनिधिहरू, बुद्धिजीवी र इटहरीका मेयर सँग छलफल नगरिएको बारेमा पनि प्रश्न गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘नगर प्रमुखबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति, व्यवहार र गतिविधिका कारण नेपालकै सुन्दर सहर धरान बारे नकारात्मक टिप्पणीहरू सुनिन थालिएको छ ।

युवाहरूलाई गुण्डाको संज्ञा दिने, दलका झोले र झ्यास्झुस् भन्ने, गुइँठे जस्ता गलत शब्द प्रयोग गर्ने, थुक्ने जस्ता क्रियाकलापप्रति सम्पूर्ण धराने युवाहरूको गम्भीर ध्यानाकर्षण भएको छ । नगरका अभिभावकका रूपमा तपाइका यस्ता गतिविधि सभ्य समाजका लागि अशोभनिय छ । यस्ता गलत हर्कत तत्काल सच्याउन आग्रह गर्दछौँ ।’

पत्रमा राम्रा कामको समर्थन र गलत कामको आलोचना हुनु स्वभाविक छ । युवाहरूलाई सकारात्मक कामतर्फ अग्रसर गराउनु पर्ने व्यक्तिले युवाहरूलाई गुन्डाको उपमा दिने, झोले जस्ता तुच्छ शब्दावली प्रयोगले युवाहरूलाई उत्तेजित बनाउँदछ । यस्ता अमर्यादित शब्द तत्काल फिर्ता लिँदै सार्वजनिक रूपमा माफी माग्न ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।

अन्यथा तानाशाह र निरंकुशतन्त्रलाई तह लगाउन सक्ने क्षमता भएका युवाहरूले मै सरकार, मै कानुन जस्तो व्यवहार गर्ने नगर प्रमुखलाई ठिक ठाउँमा ल्याउन कुनै कसुर बाँकी राख्ने छैन भन्ने अपिल समेत गरिएको छ ।