धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले पत्रकारहरूलाई उनी अनुकूलका युट्युबरहरु जस्तै बनाउन खोज्दा विवाद उत्पन्न भएको बताउँदै पूर्व मेयरहरूले प्रेसलाई आफू अनुकूल बनाउने होइन खबरदारी गर्न सक्षम र स्वतन्त्र बनाउनु पर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ सुनसरीले ‘प्रेस स्वतन्त्रता हनन विरुद्ध आन्दोलन’को कार्यक्रम अन्तर्गत आज पूर्व नगर प्रमुखहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा धरानका ४ जना पूर्व मेयरहरूले उक्त धारणा प्रकट गरेका हुन् । उनीहरूले मेयर हर्क साम्पाङ सच्चिनु पर्ने पनि सुझाव दिए ।

निवर्तमान मेयर तिलक राईले भने ‘पत्रकारहरूको धर्म नै हो खबरदारी गर्ने, स्वतन्त्र प्रेसको आलोचनालाई सुझावको रूपमा लिएर सजगता अपनाउनु उचित हुन्छ ।’ प्रेसको आलोचनाबाट अत्तालिएर नियन्त्रण गर्न खोज्नु तानासाही प्रवृत्ति हुने उनले बताए ।

आफ्नो कार्यकालमा धरानको पत्रकारितालाई स्वतन्त्र, सक्षम बनाउन पत्रकार महासङ्घ सँगको सहकार्य, संवादलाई निरन्तरता दिएको बताउँदै उनले ‘हर्क साम्पाङ जी युट्युबवरको एकतर्फी प्रचार नै प्रेस र पत्रकारिता भएको भ्रममा रहेका छन् ।’

स्वतन्त्र प्रेस र पत्रकार पनि युट्युबर जस्तै एकतर्फी ‘अन्ध समर्थक’ बनोस् भन्ने उनको चाहनाका कारण पत्रकारहरूसँग मेयर साम्पाङको विवाद उत्पन्न भएको आफूले ठानेको बताउँदै पूर्व मेयर राईले भने ‘प्रेसलाई स्वतन्त्र छोडिदिनु पर्छ, आफ्नो अनुकूल बनाए आफ्नो गल्ती कमजोरीको औँल्याउने कोही हुन्न ।’

पूर्व नगर प्रमुख मनोजकुमार मेयाङबोले मेयर र उपमेयरको १० वर्षको कार्यकालमा आफू माथि पत्र-पत्रिकाले धेरै आलोचना गरेको बताउँदै तर त्यसलाई नियन्त्रण गर्ने, गालीगलौज गर्ने कोसिस कहिल्यै नगरेको बताए । उनले भने ‘त्यस्तो आलोचना र विरोधबाट कहिल्यै अत्तालिएर पत्रकार विरुद्ध जाइलाग्ने काम गरिएन ।’

मेयाङबोले भने ‘हामी मिलेर बजेट निर्माण गर्थ्यौ, कार्यक्रम बनाउँदा सर्वसम्मतिमा बनाउँथ्यौ ।’ अहिले मेयर साम्पाङले त्यस्तो सहमतीय कार्य गर्न नसक्दा स्वाभाविक रूपमा विवाद प्रेसमा सार्वजनिक भएपछि अत्तालिएर पत्रकारहरू विरुद्ध लागेको हुनसक्ने बताए ।

mayor-4-janaउनले भने ‘पूर्व नगर प्रमुख जति सबैलाई भ्रष्टाचारी देख्ने मेयर साम्पाङ आफैले चलाएको अभियानमा अनियमितता भइरहेको प्रश्न उठेको छ ।’ उनको अभियानमा आउने आर्थिक सहयोग र जिन्सी सहयोग आउने कामको पारदर्शिताको प्रश्नलाई सुझावको रूपमा लिएर त्यसको जबाफदेहिता लिनु पर्ने उनको भनाई थियो ।

पूर्व नगर प्रमुख बम देवानले आफ्नो कार्यकालमा विरोध र आलोचना गरेका ३२ वटा पत्रिकाको फायल अहिले सम्म आफूले सुरक्षित राखेको बताए । उनले भने ‘तर पत्रकारहरूप्रति कहिल्यै अपशब्द प्रयोग गरिएन पत्रपत्रिकामा गरिएको विरोध र आलोचनालाई सुझावको रूपमा लिने गरियो ।’

उनले आफू नगर प्रमुख हुँदा निरन्तर कडा विरोध र आलोचना गर्ने पत्रकार भनी कार्यक्रममा सहभागी पत्रकार हर्ष सुब्बालाई औँल्याउँदै त्यस बेला गरिएको आलोचना र खबरदारीबाट शिक्षा मिलेको र समयमा नै सच्चिन पाएको अनुभव गरेको बताए ।

पूर्व नगर प्रमुख कुमारबहादुर कार्कीले भने ‘हर्क साम्पाङ उचाइबाट तल तल झर्दै गएका छन्, उनको व्यवहारले उनी नर्मलबाट एभनर्मल स्थितिमा पुगेको बुझिन्छ ।’ मेयर साम्पाङको व्यवहारको कारण पत्रकार, वडाध्यक्ष, सङ्घसंस्था लगायतले दुःख पाएका छन् । मेयर साम्पाङ सच्चिनु पर्ने बताउँदै उनले पत्रकारहरूले मेयर साम्पाङ कार्यशैलीको विरोध र आलोचना गर्नु स्वाभाविक रहेको बताए । 

अन्तरक्रिया महासङ्घका अध्यक्ष जनकऋषि राईको सभापतित्वमा भएको थियो । उपमहानगरपालिकाका पूर्व प्रमुख कृष्णकुमार राई आज बिहानै काठमान्डु जाने भएकाले सहभागी भएनन् । अर्का पूर्व नगर प्रमुख केपी पालुङवा काम विशेषले भारतमा रहेकाले सहभागी हुन पाएनन् ।