धरान : धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा बुढासुब्बा गोल्डकप फुटबलको २४ औँ संस्करणका लागि छुट्याएको बजेटप्रति आयोजक धरान फुटबल क्लबले असन्तुष्टि जनाएको छ ।
नगर सभाबाट पारित भएको बजेटमा ९ लाख विनियोजन गरिएको छ । बजेट निर्माण भइरहेको बेला  क्लबले मेयर हर्क साम्पाङसंग प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कार राशि १० र ५ लाख गरी कुल १५ लाख रुपैयाँ विनियोजन गर्न अनुरोध गरेको थियो ।
बजेटमा प्रथम पुरस्कार राशि सम्म नपुग्ने रकम विनियोजन भएको जानकारी पाएपछि क्लबले मङ्गलवार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै असन्तुष्टि जनाएको हो ।
क्लबका अध्यक्ष किशोर राईले  मेयर हर्क साम्पाङले खेलकुदका लागि सरोकारवाला निकायसँग छलफल नगरी गोल्डकप प्रति पूर्वाग्रहीहरूको आधारहीन कुरा सुनेर विनियोजनमा सहमति जनाएको बताए ।
कार्यपालिकामा बुढासुब्बा फुटबल प्रतियोगीतालाई हल्का रूपमा लिएर क्लबले २५ वर्ष देखी गरेको त्याग, बलिदान र समर्पणलाई अवमूल्यन गर्दै फुटबलको प्रतिष्ठालाई मानमर्दन भएको उनले बताए ।
कार्यपालिका बैठकमा गरिएको क्लबको आलोचनाका बारेमा अध्यक्ष राईले भने ‘सस्तो लोकप्रियताको लागि बोल्नु भन्दा पनि तथ्यमा गएर बोल्न सुझाव दिन चाहन्छु ।’ जनप्रतिनिधिले गरेको आलोचनाबाट क्लबको कार्यसमितिको मानमर्दन भएको उनको भनाई छ । 
अध्यक्ष राईले भने ‘धरान उपमहानगरपालिकाको बजेट विना पनि अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप गरेर देखाइ दिन सक्छौँ ।’ 
उनका अनुसार प्रतियोगिता सम्पन्न भएको यति लामो समय सम्म पनि केही सङ्घ संस्थाहरूबाट र धरानकै केही वडाहरूबाट प्रतियोगिताको लागि छुट्याएको रकम प्राप्त नभएकाले क्लबले हिसाब किताब तत्काल सार्वजनिक गर्न नसकेको स्पष्ट गरे ।
२५ वर्ष देखी संस्थागत रूपमा क्लब धरानमा फुटबल खेलको विकासका लागि निरन्तर लागिपरेको स्मरण गराउँदै उनले भने ‘कुनै पनि बहानामा धरान फुटबल क्लबको मानमर्दन सह्य हुँदैन ।’ 
अध्यक्ष राईले यस बारेमा मेयर साम्पाङ र उपमेयर आईन्द्र बेघालाई ध्यानाकर्षण पत्र बुझाउने, वडाअध्यक्षहरुसँग छलफल गर्ने बताए । 
पत्रकार सम्मेलनमा जारी वक्तव्यमा भनिएको छ ‘खेलकुदको लागि सरकारी कोषबाट २/४ लाख खर्च गर्दैमा म नै सबै खेलकुदको जानकार हुँ भन्ने ठुलो भ्रममा नपर्न धरान वडा नं. १० का अध्यक्ष विवेक राईज्यूलाई अनुरोध गर्न चाहान्छौं । हामीले धरानको प्रतिनिधित्व गरेर फुटबल खेल्दै गर्दा शायद उहाँहरू लालाबाला नै हुनुहुन्थ्यो होला । सस्तो लोकप्रियताको लागि बोल्नुभन्दा तथ्यपरक रूपमा बोल्नका लागि उहाँलाई सुझाव दिन चाहान्छौं ।’
धरान रङ्गशाला निर्माण कार्य सुरु भएको यति लामो समय हुँदा पनि आजसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन किन ? यस्तो कुराहरूको खोजी गर्नुहोस् । 
छिमेकी शहरहरुमा रङ्गशाला निर्माण कार्यहरू पुर्णरुपमा सम्पन्न भइसकेको छ । शेरधन राई मुख्यमन्त्री हुँदा धरान रङ्गशालाको लागि विनियोजित ७ करोड रकम फ्रिज भएको छ, यो कुरा अध्यक्ष विवेक राईज्यूलाई थाहा छ ? छैन भने खोजी गर्नुहोस् । 
वक्तव्यमा भनिएको छ ‘धरान खेलकुदको शहर भन्ने खेलकुदको बजेटको लागि चाहिँ सारा जनप्रतिनिधिहरूलाई दुई हात जोडेर हार गुहार गर्नुपर्ने ? कस्तो विडम्बना, तर, आज हाम्रो धरानको तितो सत्य यही नै हो ।’
नगर प्रमुखले समेत खेलकुदका लागि सरोकारवालाहरूसँग एक शब्द पनि सरसल्लाह नै नगरीकन हाँ मा हाँ मिलाउन पुगेका छन् । यो कुरा ज्यादै खेदजनक छ र यसप्रति हाम्रो पूर्ण असहमति रहेको छ, वक्तव्यमा भनिएको छ ।
Dharan-football-club-PR
Dharan-football-club-PR-2