धरान : धरान-११ स्थित ज्ञानोदय माविका शिक्षक गोपाल गुरागाईँले छात्राहरूसँग गरेको यौन दुर्व्यवहारको विषय धरान उपमहानगरपालिका शिक्षा महाशाखाले छानबिन गर्ने भएको छ ।

विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक सङ्घको बिहीबार बसेको छलफलमा पीडित छात्राहरूले दुर्व्यवहार भएको पुष्टि गरेको कुरा उठेपनि शिक्षकलाई कारबाही गर्ने निर्णय भने गरेन ।

बैठकमा सहभागी एक सदस्य अनुसार ‘बरु समाचार प्रकाशित गरेर घटना सार्वजनिक गर्ने पत्रकारलाई कारबाही गर्नु पर्छ’ भन्ने कुरा उठाएर वडा अध्यक्ष लोकेन्द्र फागोले विषयलाई नै अन्यत्र मोडे ।

शिक्षक जोगाउने निर्णय हुन नसकेपछि प्रधानाध्यापक देवकुमार श्रेष्ठले धरान उपमहानगरपालिका शिक्षा महाशाखालाई छानबिनको लागि पत्र लेखेको उनले बताए ।

नानीहरूलाई न्याय दिलाएरै छोड्छु : वडाध्यक्ष

धरान-११ का वडा अध्यक्ष लोकेन्द्र फागो सँग ‘कपुरी न्युज’ले सम्पर्क गर्दा कसैलाई पिर मार्का नगरी पीडितलाई न्याय दिएर जाऊँ भन्न खोजेको बताए । उनले भने ‘शिक्षकले उन्मुक्ति पाउँदैन, छानबिनका लागि शिक्षा महाशाखा पठाई सकेको छौं ।’

वडाध्यक्ष फागोले आज गल्ती गर्ने शिक्षकले भोली गल्ती गर्दैन भन्ने छैन भन्दै आफू सत्यको पक्ष भएको बताए । उनले भने ‘नानीहरूको कुरा सुन्दा शिक्षकको कमजोरी भएको हो, शिक्षक बचाउँदिन, नानीहरूलाई न्याय दिलाएरै छोड्छु ।’

बैठकमा सहभागी एक सदस्यले भने वडाध्यक्षले बैठकमा शिक्षकको बारेमा समाचार लेख्ने पत्रकारहरूलाई कारबाही गर्ने निर्णय गर्नुपर्छ भन्दै म्याईनेट गर्न खोजेका थिए । तर उनीहरूले व्यवस्थापन समिति पूर्ण नभएको भन्दै माइन्युटमा हस्ताक्षर नगरेको बताए ।

वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य हुन । उनले विद्यालयमा भएको कुरा कसरी बाहिर जाँदैछ ? स्कुल बेइज्जत गराउन स्कुल भित्रकै मान्छे लागेको बताएको बैठकमा सहभागी एक सदस्यले बताए ।

स्वतन्त्र छानबिन हुनपर्छ : सङ्घ अध्यक्ष तामाङ

स्कुलका शिक्षक अभिभावक सङ्घका अध्यक्ष मदन तामाङले गल्ती गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने बताए । शिक्षक गुरागाईँले गलत गरेका छन् भने कारबाही हुनुपर्ने उनको भनाई छ ।

छानबिन र कारबाहीका लागि शिक्षा महाशाखालाई सम्पूर्ण जिम्मा दिएको बताउँदै अध्यक्ष तामाङले भने ‘महाशाखाले सत्य तथ्य पत्ता लगाई स्वतन्त्र रूपमा छानबिन गर्नु सक्नु पर्दछ ।’

शिक्षक गोपाल गुरागाईँले छात्राहरूलाई हात सुमसुम्याउने, ढाड तथा शरीरमा छाम्ने जस्ता क्रियाकलाप गर्ने गरेको कुरा पटक पटक उजुरी गर्दै आए पनि प्रधानाध्यापक श्रेष्ठले उनीहरूलाई सम्झाउदैं चुप गराउँदै आएका थिए ।

छात्राहरूसँग शिक्षक गुरागाईँले यौन दुर्व्यवहार गरेको कुरा सार्वजनिक भएपछि विद्यार्थी सङ्गठनहरूले विद्यालयलाई शिक्षकलाई कारबाही गर्न माग गरेको छ ।

यसै बिच शिक्षक गुरागाईँ मङ्गलवार देखि बिदामा बसेका छन् । आज शुक्रवार प्रधानाध्यापक देवकुमार श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।