धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पूर्व सूचना नदिई धरान-४ का दीपक लिम्बुको बाख्राको गोठ भत्काइदिएका छन् ।

नगर प्रमुख साम्पाङ सहित नगर प्रहरीहरू आएर आइतबार बिहान बाख्राका गोठ भत्काई दिएको लिम्बुले ‘कपुरी न्युज’लाई बताए । उनले भने ‘पूर्व सूचना नदिई एक्कासि आएर भत्काई दिँदा मेरो ठुलो नोक्सानी भयो ।’

देबिथान तल्लो गोलाईमा रहेको उनको बाख्राको गोठ सर्दु जलाधार क्षेत्रमा घर टहरा बनाएको भन्दै पूर्व सूचना समेत नदिई भत्काइदिएको लिम्बुले बताए ।

लिम्बूका अनुसार नगर प्रमुख साम्पाङ बिहान ७ बजे नै त्यहाँ पुगेका थिए । उनले भने ‘म जस्तो किसानको बिना सूचना गोठ भत्काइदिएर साम्पाङले किसानलाई पिडा दिने हिटलरी शैलीमा काम गर्नु भएको छ ।’

स्थानीय सरकारले कृषकलाई प्रेरणा दिनु पर्नेमा उल्टै कुनै सूचना नदिई गोड भत्काएर पिडा दिएको बताउँदै गोठ भत्काउँदा बाख्राहरूको बिचल्ली भएको सुनाए । उनले विगत ८ वर्ष देखि देबिथानमा गोठ बनाएर बाख्रा पाल्दै आएका छन् ।

लिम्बूले भने ‘सूचना दिएको भए आफै भत्काउने थिएँ, विकल्पको व्यवस्था गर्न पनि दिएन ।’ यस्तो ज्यादतीले खोर भत्किएपछि अब बाख्रा राख्ने ठाउँ नभएकोले कृषक र गरिब दुःखीलाई झन् दुःखी बनाएको उनको भनाई छ ।

नगर प्रमुख साम्पाङले जलाधार क्षेत्र भन्दै बाख्रा, गाईबस्तु चर्दै गएमा समेत समातेर पशुको मुल्य भन्दा अधिक जरिवाना लिने गरेको बताए ।  बाख्रा, गाईबस्तु बेचेर समेत जरिवाना तिर्न नसक्ने गरी जरिवाना गर्ने गरेको बताए ।