धरान : बङ्गलादेशमा विद्यार्थी आन्दोलनले ल्याएको परिवर्तनपछि बन्ने अन्तरिम सरकारका प्रमुख सल्लाहकारमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मुहम्मद युनुस नियुक्त हुने प्रायः निश्चित भएको छ ।

विद्यार्थी आन्दोलनका समन्वयकारी अगुवा मध्ये एक नाहिद इस्लामले मङ्गलवार बिहान आन्दोलनका संयोजक आसिफ महमुद र अबु बक्र मजुमादाको उपस्थितिमा सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै प्राध्यापक मुहम्मद युनुसको नाम मुख्य सल्लाहकारमा प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

आन्दोलनकारीको प्रस्ताव अनुसार प्राध्यापक युनुस अन्तरिम सरकारको प्रमुख बन्ने निश्चित भएको हो । बङ्गलादेशका राष्ट्रपतिले पनि चाँडो भन्दा चाँडो प्राध्यापक युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन् । 

आन्दोलनका अगुवाका अनुसार प्राध्यापक युनुससंग अन्तरिम सरकारको प्रमुख बन्ने बारेमा कुराकानी भइसकेको छ । उनले भने ‘मैले मोहम्मद युनुससंग कुरा गरेको छु, उहाँ विद्यार्थीको अपिल अनुसार बङ्गलादेशको लागि यो अहम् भूमिका सम्हाल्न सहमत हुनुभएको छ ।’

आन्दोलनकारी विद्यार्थीहरूले सल्लाहकार परिषद्को अन्य सदस्यहरूको नाम पनि चाँडै घोषणा गरिने जनाएका छन् । यसअघि पत्रकार सम्मेलनमा नहिद इस्लामले भनेका थिए ‘हामी विद्यार्थी र नागरिकद्वारा समर्थित र प्रस्तावित नगरिएको कुनै पनि प्रकारको सरकार मान्दैनौँ ।’