वराहक्षेत्र : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विश्व आदिवासी दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ भोक्राहा नरसिंह गाउँ कार्यसमितिको आयोजनामा चिरौली चौकमा आयोजना भएको कार्यक्रममा विभिन्न आदिवासी जनजातिमा सूचीकृत जातिले आआफ्नो जातीय झाँकी सहित नृत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ भोक्राहा नरसिंह गाउँ कार्यसमितिले वार्षिक आफ्नो आय व्यय प्रस्तुति सँगै सम्मेलन समेत आयोजना गरेको थियो ।

गाउँ महासङ्घको अध्यक्ष ममता कुमारी उराँवको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य  इस्राइल मन्सुरी रहेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सङ्गठनका सदस्य एवं सुनसरी क्षेत्र नम्बर ४ का सचिव राजेन्द्रप्रसाद मेहता, नेपाल मुस्लिम सङ्घ सुनसरी जिल्लाका सभापति तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी, जसपा नेपालका भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र प्रसाद यादव, नेकपा एमाले भोक्राहा नरसिंहका अध्यक्ष हेमनारायण मण्डल, नेपाल विद्यार्थी सङ्घ सुनसरीका उपसभापति सेराज हुसेन, नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका सचिव कृपाराम मेहता लगायतको उपस्थिति रहेको थियो ।