धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अराजक तत्त्वहरूले प्रदेश संरचना खारेज गर्ने सस्तो लोकप्रियताको नारामा कुदिरहेको बताएका छन् ।

पब्लिक स्कुलको ७८औँ स्थापना दिवस समारोहमा शुक्रवार उनले भने ‘प्रदेशको औचित्य स्थापित गर्ने दायित्व प्रदेशसभा सदस्यहरू र सङ्घीय सरकारको मात्र नभई सम्पूर्ण नेपाली जनताको भएको हो ।’

मुख्यमन्त्री कार्कीले भने ‘प्रदेश सरकार खारेज गर्नु भनेको नेपालको संविधानलाई ठाडो चुनौती दिन हो ।’ संविधानको मूल अंशका रूपमा रहेको प्रदेश संरचनाबारे गरिएको आलोचना, विरोध र कमजोरी सच्याएर प्रदेश सरकार स्थापित गर्ने दायित्व आफ्नो काँधमा रहेको उनले बताए ।

भर्खर बनेको प्रदेश सरकारबारे आवधिक समीक्षा हुनसक्ने तर, प्रदेश संरचना हटाउनुपर्छ भनेर टिप्पणी हुनु दुःखद भएको उनको भनाई थियो । साझा सूचीमा रहेका विषयबारे सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारले गति लिन नसकेको बताउँदै उनले भने ‘तर शून्यबाट प्रारम्भ भएको संरचना अहिले मानिसहरूले खोज्दा भेटिने बनेको छ ।’

उनले धरान उपमहानगरपालिका उपमेयर अईन्द्र विक्रम बेघालाई इङ्गित गर्दै भने ‘जनतालाई करको लोड थपेर होइन करको दायरा बढाएर समस्याको समाधान गर्न आग्रह गरे ।'

उनले शिक्षामा लगानी गर्न प्रदेश सरकार पछाडि परिरहेको भन्दै युवा बालबालिकाको शैक्षिक विकासका कार्यमा अगाडी बढेको बताए । विद्यालय सुधार गरेर शैक्षिक स्तर बढाएर अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए ।

धरान उपमहानगरपालिका उपमेयर बेघाले धरानको समस्या चुलिँदै गएको बताए । उनले धरानका विद्यालयहरूमा शिक्षक दरबन्दी कम भएकाले दरबन्दी बढाउन प्रदेश सरकारले समन्वय गर्न आग्रह गरे ।

उक्त अवसरमा स्कुलको वार्षिक मुखपत्र 'पीयूष' छैटौँ अङ्क मुख्यमन्त्री कार्कीले विमोचन गरेका थिए । उनले कक्षा १२ मा उत्कृष्ट अङ्क प्राप्त गर्ने ३ जना विद्यार्थीलाई देवकुमारी शिवप्रसाद आचार्य स्मृति पुरस्कार प्रदान गरे ।

कक्षा १२ मा उत्कृष्ट अङ्क ३.७७ जिपिए ल्याई पब्लिक स्कुलमा पहिलो स्थान हासिल गर्ने समीक्षा पोख्रेललाई नगद ७२ हजार गरिएको थियो । ३.६६ जिपिए ल्याएर दोस्रो स्थान प्राप्त कञ्चन खतिवडालाई ६० हजार नगद प्रदान गरिएको थियो । यस्तै ३.६ जिपिए ल्याएर तेस्रो स्थानमा रहेकी नेहा श्रेष्ठलाई नगद १३ हजार प्रदान गरिएको थियो ।

सोही अवसरमा कवि विष्णु बियोगीको कविता सङ्ग्रह ‘किरिच’को विमोचन भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक ईन्द्र मोहन झाले स्कुलका बारेमा बताएका थिए । कार्यक्रममा प्रदेश सांसद यशोदा कायस्थको विशेष उपस्थिति थियो ।

Public-Studenthikmat-karki-Public-School