धरान : गएको दुई दिन अघि बाढी-पहिरोले अवरुद्ध बनाएका काठमाडौँ सँग सार्वजनिक यातायातका सम्पर्क सडकहरूमा बिचैमा रोकिएका बसहरूका ६०० को सङ्ख्यामा यातायात मजदुर,यात्रुहरू अलपत्र परेका छन् ।

काभ्रे जिल्लाको नार्के, कालढुङ्गा, आपटारी लगायतका स्थानहरूमा अलपत्र परेका यातायात मजदुरहरू र यात्रुहरूको तत्काल उद्धारको व्यवस्था गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सरकारसँग माग गरेको छ ।

केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले आइतबार विज्ञप्ति जारी गर्दै शुक्रवारदेखि फसेका चालक, सहचालक, परिचालक तथा यात्रुहरू आइतबार सम्म पनि भोकभोकै बस्नु परेको जनाएका छन् । उनीहरूलाई तत्काल उद्धार र खानेकुराको व्यवस्था गर्न माग गरिएको हो ।

अवरुद्ध सडकहरूमा करिब ३० वटा बस, २५० वटा माइक्रो बस २२ वटा विङ्गर भेन, १५० को सङ्ख्यामा विद्युतीय भ्यान, ४० वटा सुमो जिप समेत ५ सय सवारी साधन अलपत्र परेको छ ।

धेरै यात्रु हिँडेका छन् भने बृद्धबृद्धा, केटाकेटी र महिला ६ सयको सङ्ख्यामा रहेकाले उनीहरूको तत्काल उद्धार र उद्धार नभएसम्म खाद्यान्नको व्यवस्था गर्न सङ्गठनले अपिल गरेको छ ।

दमकबाट यात्रु लिएर काठमाण्डौं जाँदै गरेका चालक कृष्ण मैनालीले ३ दिनदेखि कालढुङ्गामा अलपत्र परेको बताएका छन् । बा ५ ख ७३७ नम्बर हायस चालक मैनालीका अनुसार अलपत्र परेकाहरू भोकभोकै छन् । किनेर खाने पसल केही छैन ।

यात्रुहरूले बोकेका खाद्य, चामलले एक छाक टरे पनि कसरी बाँच्ने भन्ने पिरमा परेका छन् । महिला, बालबालिका, बृद्धबुद्धाहरु बढी समस्यामा भएको मैनालीले बताए ।

विज्ञप्तिमा बिहीबार रातीदेखि शनिवार साँझसम्मको अविरल वर्षाले देशै भरी क्षति पुर्‍याएको छ । ठुलो मात्रामा जनधनको क्षति भए पनि सरकारले पर्याप्त तयारी र उद्धार नगरेकोमा सङ्गठनले आपत्ति जनाएको छ ।

झ्याप्ले खोलामा पुरिएका सवारी साधनहरू र त्यहाँ पुरिएका मजदुर सहित नागरिकको तत्काल र प्रभावकारी उद्धार गर्न सङ्गठनले सरकारसँग अपिल गरेको छ ।

बाढी पहिरोका कारण ठुलो मात्रामा भौतिक पूर्वाधारहरू ध्वस्त बनेको नागरिकहरू घरबार विहीन भएको धेरैको सवारीसाधनहरू ध्वस्त बनेकाले सरकारको तर्फबाट राहत प्याकेज घोषणा गर्न अपिल गरेको छ ।

विज्ञप्तिमा वर्षाका कारण आएको बाढी, पहिरोले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा सडकमा क्षति पुगेको छ । सयौँको मृत्यु भइसकेको छ। दर्जनौँ नागरिकहरू बेपत्ता छन् ।

सार्वजनिक सवारीसाधनहरू निर्बाध चल्न नसक्दा जनजीवन कष्टकर बनेको उल्लेख गर्दै विज्ञप्तिमा  बिच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा यात्रुहरूको उद्धार र राहतलाई तत्काल प्राथमिकतामा राख्न माग गरिएको छ ।

badhi-pahiro