धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने कार्यलाई धरानका ६ वटा दलले उपप्रमुख पदलाई अपमानित गर्ने ‘अत्यन्तै नीच कार्य’ गरेको भन्दै भर्त्सना गरेका छन ।
धरानका ६ वटा दलले आज बुधवार जारी गरेको वक्तव्यमा भनिएको छ ‘ऐनले व्यवस्था गरेको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैर कानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमा माथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै निज कार्य गरेको हाम्रो ठहर छ ।’
धरानवासीको शिर निहुर्याउने नगर प्रमुखको यस प्रकारको कार्यको घोर भर्त्सना गर्दै वक्तव्यमा नगर प्रमुखको तहबाट यस्ता गैरकाननी र अराजक गतिविधिहरू नगर्न सचेत गराउँदछौ भनिएको छ ।
वक्तव्य नेपाली काँग्रेस बाहेकका ६ दलका अध्यक्षहरू एमालेका हकृजंग एभेङ, माओवादीका सूर्यबहादुर भट्टराई मनोज, जसपाका ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका रेवती रमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्की र रास्वपाका संयोजक नरेश शाक्यको हस्ताक्षर छ ।
वक्तव्यमा नेपाली काँग्रेस धरान नगर समितिको ध्यानाकर्षण गराउँदै भनिएको छ ‘नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक मूल्य मान्यता मान्ने पार्टीका निर्वाचित वडा अध्यक्षले संविधान र कानुन विपरीत सर्त सहित केवल थपना मात्रको का.वा.को जिम्मा लिनु आश्चर्यजनक भएको छ ।’
6-rajnaitikdal-bigyapti