धरान : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका महासचिव रामप्रसाद दाहालले पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदनका मुख्य मुख्य बुँदा आइतबार प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।
महासङ्घ केन्द्रीय कार्यसमितिले पत्रकार दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा धरानका पत्रकारहरू, सामाजिक अगुवाहरू, प्रशासन, प्रहरी सहित सुरक्षा निकायहरूसँग गरिएको अध्ययनका आधारमा नगर प्रमुख हर्कराज राईका गतिविधिहरू सामाजिक रूपमा दुरी र द्वन्द्व बढाउने खालका भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख राईले आफ्नो आलोचना गर्नेहरू, बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जती गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउने सम्मका कार्यहरू भइरहेको देखिएको विज्ञप्तिमा छ ।
विज्ञप्तिमा भनिएको छ नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ । व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ । जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ ।
नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जाल मार्फत नगर प्रमुखले पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडियो सामग्रीहरू बनाउने कार्यले गोपाल दाहाल लगायत पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइयो ।
कतिपय पीडित पत्रकारका छोराछोरीहरू पत्रकार बुबा आमालाई धन्क्याएका वा गाली गर्दै लेखेका सामाजिक सञ्जालको स्ट्याटस हेरेर डराएको, विद्यालयमा पढ्न जानसमेत सशङ्कित हुने गरेको पाइएकोले त्रासको वातावरण व्यक्तिमा मात्र सीमित नरही परिवारको तहसम्म विद्यमान रहेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
निष्कर्षमा राईका गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको देखिएको बताइएको छ । राईका विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभाव पारेको देखिएको बताइएको छ ।