धरान : धरान-१५ शिवगंगा बस्तीका अति विपन्न सुकुम्वासीहरु ३० परिवारलाई राहत वितरण गरिएको छ।

घ्यालसुम्दो सेवा संस्था अमेरिकाको आर्थिक संयोजन, ग्रामीण क्लब हाउस सुनसरी तथा नेपाल रेडक्रस सोसाइटी सुनसरी, बाँझगरा उपशाखाको संयोजनमा धरान १५ स्थित शिवगंगा बस्तीमा ३० घर परिवार राहत वितरण गरिएको थियो ।

राहत प्याकेजमा चामल १० के जी , १ के जी दाल, १ लिटर तेल, १ के जी नुन आदी रहेको थियो ।

रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा सुनसरी सभापति उमेश थापाले भने 'लकडाउनको पहिलो चरणको धेरैले राहत वितरण गरे, धरान उपमहानगरपालिकाले पनि गर्यो । वास्तवमा पछिल्लोे समय सुकुम्बासी बस्तीमा भोकमारीले सताएको कुराहरु आउन थाले पछी राहत वितरण गरेका हौ।'

सुकुम्बासी बस्तीका बालबालिकाहरु स्कुल बन्द भएपछि सडकमा निस्केर सडक बालबालिका समेत बन्न थालेको उनले बताए । यसमा राज्य तथा स्थानीय तह गम्भिर हुनुपर्ने उनको भनाई थियो ।

राहत बितरणमा कांग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ्ग, नेपाल रेडक्रस सोसाइटी सुनसरी बाँझगरा उपशाखाका सभापति उमेश पौडेल लगायतको उपस्थीती थियो ।