विराटनगर : सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखा परेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढ्दो छ । सञ्चालकले मनोमानी ढङ्गले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो । जसले गर्दा एकपछि अर्को सहकारी संस्थामा निक्षेपकर्ताको रकम जोखिममा पर्न थालेको छ । विराटनगरका आधा दर्जन सहकारीमा बचत र फिक्स डिपोजिट गरेको निक्षेपकर्ताको करोडौँ रुपैयाँ जोखिममा परेको छ।
निक्षेपकर्ताको करोडौँ रुपैयाँ विराटनगरको महेन्द्र चौकमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थामा पनि जोखिममा पर्ने देखिएको छ । सिद्धार्थ सहकारीले बचत र फिक्स डिपोजिट गरेका निक्षेपकर्ताहरूको अवधि पूरा हुँदा पनि जम्मा गरेको रकम नपाएपछि प्रहरीलाई गुहारेका छन् । दुई दर्जन बढी निपेक्षकर्ताहरूले सिद्धार्थ सहकारीमा जम्मा गरेको साँवा र ब्याजसहित रकम फिर्ताको माग गर्दै मोरङ प्रहरीमा आइतबार पुगेका हुन् ।
नियमित बचत गर्दै आएको रकम दिन सिद्धार्थ सहकारीले आलटाल गर्दै आएको विराटनगर-८ का मुन्ना रौनियारले बताए । उनले सिद्धार्थमा १८ प्रतिशत ब्याजदर पाउने लोभमा तीन लाख रुपैयाँ एक वर्षको लागि फिक्स डिपोजिट गरेका थिए । विराटनगरमा मोबाइल पसल रहेको रौनियारले फिक्स डिपोजिटबाहेक दैनिक बचत पनि गर्दै आएका थिए । फिक्स डिपोजिट र दैनिक बचत गरी उनले सिद्धार्थ सहकारीमा जम्मा गरेको पाँच लाख पुगेको छ । अहिले निक्षेप गरेको रकम माग्न जाँदा सहकारीले झुलाउने गरेको उनले बताए । ‘मेरो फिक्स डिपोजिट गरेको रकम र दैनिक बचत गरेको रकम माग्न गएको हप्ता दिनभन्दा बढी भयो । तर, सहकारीले भाका मात्र दिने गर्दछ । पैसा दिँदैन’ उनले भने, ‘आफूले जम्मा गरेको रकम नपाएपछि अहिले प्रहरीको सहारा लिनुपर्ने अवस्था आएको छ ।’ दुःख गरेर आर्जेको रकम झिक्न जाँदा सहकारीले झुलाउने गरेको उनले बताए ।
खाई नखाई दुःख गरेर आर्जेको रकम जम्मा गरेको वर्ष दिन भयो । आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारीले झुलाइरहेको छ । कहिले महिना दिनपछि आउनू , कहिले अर्को महिना आउनू भन्दै सहकारीमा आफूले जम्मा गरेको रकम झिक्न आएको हप्तौँ बितिसक्यो । अहिलेसम्म आफूले बचत गरेको रकम सहकारीले दिन आलटाल गर्दै आएको  छ’ उनले भने, ‘आफूले जम्मा गरेको रकम झिक्ने भन्दै सहकारी धाएको सयौँ पटक भइसक्यो । तर, सहकारीले अर्को पटक आउनू भन्दै झुलाउने गरेको छ । कस्तो दिन आयो । आफूले जम्मा गरेको पैसा लिन पनि यस्तो सास्ती भोग्नुपर्ने ?’
यसरी सिद्धार्थ सहकारीमा बचत गरेको रकम झिक्न आउँदा आलटाल गर्दै झुलाउने गरेको मुन्नालाई मात्र होइन, यस सहकारीमा दैनिक सयौँको सङ्ख्यामा निक्षेपकर्ताहरू आउने गरेका छन् । यस सहकारीमा पाँच हजार रुपैयाँदेखि १५ लाख रुपैयाँभन्दा बढी आफूले निक्षेप गरेको रकम झिक्न आउने गरेका छन् ।  तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ । विराटनगर-११ का सुमित साहले पनि दैनिक बचत गरेको ७५ हजार रुपैयाँ सिद्धार्थ सहकारीले नदिएको बताए । ‘दैनिक ५ सयदेखि १ हजार रुपैयाँसम्म सहकारीमा बचत गर्दै आएको थिएँ’ उनले भने, ‘अहिले आएर आफूले बचत गरेको पैसा लिन जाँदा दिएको छैन ।’ आफूले निक्षेप गरेको रकम नपाएपछि बाध्य भएर प्रहरीमा उजुरी दिने तयारी गरेको उनले सुनाए ।
सिद्धार्थ सहकारीले रकम नदिएपछि दुई दर्जन बढी निक्षेपकर्ता मोरङ प्रहरीमा पुगेका थिए । रकम नपाएको जानकारी प्रहरीलाई गराएपछि सिद्धार्थ सहकारीका व्यवस्थापक उज्ज्वल प्रधानलाई नियन्त्रणमा लिएको थियो । सञ्चालकहरूले निपेक्षपकर्ताको रकम दिने मौखिक रूपमा आश्वासन दिएपछि प्रहरीले व्यवस्थापक प्रधानलाई सोमबार छोडिदिएको छ । ‘सिद्धार्थ सहकारीले रकम नदिएको भन्दै निक्षेपकर्ताहरू प्रहरीमा आएका हुन्’ मोरङ प्रहरीका डिएसपी राजन कार्कीले भने, ‘उहाँहरूले जाहेरी नदिएपछि सोधपुछको लागि बोलाएको व्यवस्थापकलाई छोडिदिएका हौँ ।’ यस सहकारीका अध्यक्ष अनिल गौतम हुन् । सहकारीको विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेलले सहकारीले कर्जा व्यवस्थापन गर्न नसक्दा अहिले समस्या आएको बताए । कोभिड-१९ पछिको तरलता अभावको कारणले पनि यस्तो समस्या आएको उनले बताए । समस्या समाधानका लागि सङ्घले पहल गरिरहेको उनको भनाइ छ । समस्यामा परेका सहकारीहरूको लागि राष्ट्रिय सहकारी बैङ्कसँग जिल्ला सहकारी सङ्घले समन्वय गरेर तरलता व्यवस्थापनको लागि पहल गर्दै आएको उनले बताए । समस्या भएको सहकारीलाई तरलताको व्यवस्था गरेर सङ्घले संरक्षण गर्ने काम गरेको उनले बताए ।
विराटनगर महानगरपालिकाका सहकारी शाखा प्रमुख पृथ्वीकुमारी बस्नेतले राष्ट्रिय सहकारी महासङ्घसँग सहकार्य गरी सहकारीका समस्या समाधान गर्न पहल गरिने बताइन् । ‘समस्याप्रति हामी चिन्तित छौँ’ उनले भनिन्, ‘विराटनगर महानगरपालिकाभित्र पर्ने सहकारीको अनुगमन र निरीक्षण गर्ने कामहरू भइरहेको छ ।’ सहकारीमा विकृति रोक्न अनुगमन बढाउने काम भइरहेको उनले बताइन् । सहकारी शिक्षा, सचेतना बढाएर समस्या आउन नदिन पहल गरिने उनको भनाइ छ । विराटनगर महानगरपालिकाबाट स्वीकृति लिएर १ सय ९३ वटा सहकारी सञ्चालनमा रहेका छन् ।
महानगरले ७६ वटाको अनुगमन गरिसकेको छ ।
ब्लाष्ट टाइम्स दैनिकबाट