धरान : वीपी प्रतिष्ठानको प्रयोगशालामा नयाँ प्रविधिको सुविधा थपिन ढिलाइ भइरहेको बेला गेटैमा निजी क्लिनिकले फोरडी भिडियो एक्स-रे सुविधा दिने भएको छ ।

वीपी गेट धरान-१८ स्थित बिर्तामोड डाइग्नोस्टिक एण्ड पोलिक्लिनिकले १ करोडको लगानीमा अत्याधुनिक फोरडी भिडियो एक्स-रे मेशिन ल्याएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामीहरूलाई सुविधाका लागि ४-डि एक्स-रे आइतवारदेखी सञ्चालनमा आएको छ । एक्स-रे सेवाको औपचारिक कार्यक्रम गरी उद्घाटन महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष  शिला बज्राचार्यले गरिन् ।

फोरडी एक्स-रे मेशिन सामसुङ कम्पनीको भि सिक्स मोडलको पछिल्लो हाई भर्सन भएको बताइएको छ । क्लिनिकका सञ्चालक नरेन्द्र कुमार देव हुन । उनले फोर डी अल्ट्रासाउण्ड मेसिनमा १ करोड लगानी भएको बताए ।

हालसम्म काठमाडौँ र विराटनगर मात्रै यसको सेवा उपलब्ध रहेको धरानमा पहिलो पटक भित्र्याएको उनले बताए ।

सञ्चालक देवका अनुसार विशेष गरेर गर्भवती महिलालाई ठुलो राहत पुग्ने पोलिक्लिनिकले जनाएको छ । गर्भ अवस्थामा रहेको शिशु पूर्ण रूपमा स्वस्थ छ, छैन भनेर हेर्न सकिनेछ ।

उनले भने ‘गर्भको बच्चाको शारीरिक बनावट, अनुहार बुबा वा आमा मध्येको जस्तो देखिन्छ भनेर जन्मनु अघि नै स्क्रिनमा देख्न सकिन्छ ।’ सरकारी र निजी क्षेत्रमा समेत हाल सम्म यस्तो अत्याधुनिक प्रविधि नभएको उनको दाबी छ ।

कलेजो सम्बन्धी ईलास्ट्रोग्राफि गरेर बोसोको मात्रा अथवा कलेजो कति प्रतिशत राम्रो छ भनेर हेर्न सकिने उनले बताए ।

मुटुको भिडियो एक्स-रे सेवा पनि सञ्चालनमा आउने लिभर इलास्ट्रिगोफी, इको कार्डियोलिग्राफि,पाठेघरको मुखको क्यान्सर लगायतको उक्त प्रविधिबाट जाँच गर्न सकिने देवले बताए ।