धरान : दुई बर्ष कोरोना महामारीको कारण स्थगित भएको धरानको पिण्डेश्वर वाबाधाम स्थित पिण्डेश्वर मन्दिरमा आज देखि बोलबंम सुरु भएको छ । 

ऐतिहासिक, पौराणिक, धार्मिक तीर्थस्थल धरान १४ मा रहेको पिण्डेश्वर बाबाधाममा हरेक साउन महिनामा लाग्ने बोलबंम मेला यसपटक पनि भव्यरुपले लाग्ने भएको छ । साउन १ गते पहिलो सोमबारको अघिल्लो दिन आइतबार परेकोले आज प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र धरानका मेयर हर्क साम्पाङले बाबाधाममा जल अभिषेक गरेर बोलबंम मेलाको विधिबत उदघाटन गरेका छन् । जल अभिषेक पछि पिण्डेश्वरको बोलबंम मेलाको प्रचार प्रसार र प्रर्वद्धनमा प्रदेश सरकार लाग्ने सभामुख भण्डारीले बताए भने मयेर हर्क साम्पाङलाइ स्थानियबासीले लाखौ भक्तजनले आस्था राखेर साउनमा तीर्थ आउने बोलबंम मेलाको प्रर्वद्धन नभएको गुनासो गरे । मेयर हर्क साम्पाङले पनि बोलबंम मेलालाई व्यवस्थितगरी प्रर्वद्धन गर्न लागि पर्ने बताए । 

दुई बर्ष सम्म स्थगित भएको बोलबंम मेलालाई यसपटक व्यवस्थित र भब्य बनाउन पिण्डेश्वर वावाधाम समिति लागि परेको समितिका अध्यक्ष विकास बनेपालीले बताए । उनले भने– दुई बर्ष रोकिएर यसपटक लाग्न लागेको बोलबंम मेला भव्यरुपले लाग्ने र साउन महिनामा ५ वटा सोमबार परेकोले ५ लाख भक्तजनले जल चढाउने अपेक्षा गरेको बताए । 

पछिल्लो समय कोरोना संक्रमणदर बृद्धि हुदै गइरहेको बेलामा बोलबंम मेला कसरी लाग्छ भन्ने सवालमा अध्यक्ष बनेपालीले भने यदी विचमा कोरोना संक्रमणदर बढ्यो भने विचैमा मेला बन्द हुन पनि सक्छ । कोरोना संक्रमण बढीरहेकोले उपस्थित सबै भक्तजनहरुलाई स्वास्थ्य सतर्कता अपनाएर दर्शन गर्न उपस्थित हुन अनुरोध पनि गरे ।

पिण्डेश्वर बाबाधाममा सप्तकोशी नदीबाट जल ल्याई खाली खुट्टा पैदल पिण्डेश्वर बाबाधाममा ल्याई चढाउनाले मनोकांक्ष पुरा हुने जनविश्वास बढदै गएपछि पछिल्लो समय धरानको पिण्डेश्वर बाबाधाममा साउनमा जल चढाउनेहरुको घुईचो बढदै गईरहेको छ ।