आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै छ ।  दशैंको टीका, कोजाग्रत पूर्णिमाका दिन देखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिंदैछ ।
आज विभिन्न शक्ति पीठहरूबाट रथयात्रा निकालिँदै छ। यसै क्रममा धरानको विजयपुरमा रहेको दन्तकाली मन्दिरबाट पनि आज राति भगवती दुर्गा माताको रथ निकालिनेछ। 
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्ने चलन रहेको छ।
आजको दिन राति जाग्राम बस्ने मानिसको घरमा पृथ्वी भ्रमण गर्दै हिँड्नुभएकी  भगवती  महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउनुहुन्छ  भन्ने शास्त्रोक्त वचन रहेको छ र यसै वचनलाई  विश्वास गरेर  यसैका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो।
महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्दछ। यसैगरी सौभाग्य, सम्पत्ति, श्री प्राप्तिका लागि आजैदेखि आकाश दीप प्रज्वलन गर्न पनि प्रारम्भ गरिन्छ । आकाश दीप जगाउनका लागि, पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याइ प्रज्वलित गरिन्छ । आकाश दीप  भगवान् विष्णुलाई समर्पण गरी बाल्ने चलन छ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् आजै देखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गर्न आजदेखि सुरु गरिन्छ । 
आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ ।
आज रातभर जागा बसेर कौडा खेलेर माता महालक्ष्मीको आराधना गर्नु पर्दछ । यसो गर्दा धनधान्यकी देवी प्रसन्न भई व्यक्तिलाई चौतर्फी धनलाभ हुने विश्वास गरिन्छ । आजको दिनको नाम नै को-जाग्रत अर्थात् जो जागा भएर महालक्ष्मीको आराधना गरेर बसेको छ त्यसलाई अवश्य पनि श्रीप्राप्ती हुनेछ तर जसको घरमा अँध्यारो छ र जागा नभईकन सुती रहेका छन् भने त्यसका घरमा धनकी देवीको कृपा हुन सक्दैन।
आज तपाईँहरू पनि सकेसम्म जागा बस्नुहोस्। यदि सक्नुहुन्न भने पूजा कोठामा माता लक्ष्मीको तस्बिर अगाडि,  रातभर बल्ने दियो जगाइदिनुहोस्।यसो गर्दा पनि जागा बसे बराबरको फल प्राप्त हुन्छ भन्ने शास्त्रोक्त वचन रहेको छ ।