धरान : माओवादी निकट किरात र लिम्बुवान मोर्चाको राष्ट्रिय सम्मेलनले कोशी नाम खारेजीको आन्दोलनमा नयाँ मान ल्याउने भएको छ ।
प्रदेशको पुन: नामाङ्कन ऐतिहासिक सभ्यता र पहिचानका आधारमा ‘किरात लिम्बुवान कोचिला’ प्रदेश कायम गर्न माग गर्ने सम्मेलन पूर्व निर्णय भएको बताइएको छ ।
लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङवो मुकेशका अनुसार पार्टीको किरात लिम्बुवान कोचिला र धिमाल राष्ट्रिय मुक्ति मोर्चाको बैठकले उक्त निर्णय गरिसकेको छ ।
उनले भने ‘चैत २६ गते इटहरीमा भएको संयुक्त बैठकले प्रदेशको पूनः नामाकरण सहित ६ बुँदे निर्णय गरिसकेको छ ।’ सम्मेलनको जानकारी दिन सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सोही निर्णयहरू राष्ट्रिय सम्मेलनमा अघि सार्ने गरी किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारी थालिएको उनले बताए ।
किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन वैशाख २६ र २७ गते धरानमा हुँदैछ । सम्मेलनमा जनादेश र जनभावना विपरीत प्रदेश सभाबाट राखिएको ‘कोशी’ नाम खारेज गरी पुनः नामाङ्कन गर्ने प्रस्ताव पारित गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष मेन्याङवो भने ‘दुई तिहाइ प्रदेश सांसदहरूले राखेको ‘कोशी’ नामकरणलाई माओवादी सांसदहरूले दिएको मत गलत भएको स्वीकार गर्दै गल्ती सच्याउन संयुक्त मोर्चाले विज्ञप्ति प्रकाशित गरेको थियो ।’
प्रदेश सांसद तथा किराँती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजन किराँती वासुले आफूले फरक मत राख्दै कोशी नामकरणमा मत जाहेर नगरेको बताए । उनले भने ‘माओवादी संसदहरुको मत निर्णायक नभएको अवस्थामा जसरी भए पनि नामाकरण हुने परिस्थिति थियो ।’ उनले माओवादी सांसदहरूको मतले कोशी नामाकरण नभएको बताए । तर, भएको गल्ती सच्याउँदै पुन नामकरणका लागि संयुक्त मोर्चाले निर्णय अगाडी सारेको स्पष्ट गरे ।
दुवै जातीय सङ्गठनको राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने निश्चित भएको अध्यक्ष मेन्याङवोले बताए ।