धरान : नेपालको नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राई टाटा स्टील प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेका छन् ।

उनलाई आज धरान उपमहानगरपालिकाका मेयर एवं गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष प्रवीण राई र नेपाली काँग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जितको शुभकामना सहित  बिदाइ गरेका छन् । उनलाई मेयर राईले व्यक्तिगतरुपमा भारु १ हजार र नेपाली १० हजार रुपैयाँको चेक हस्तान्तरण पनि गरे । मेयर राईले धरानको उत्पादन शुक्र नेपालकै नम्बर वान प्रोफेसनल खेलाडी भएकोले सम्पूर्ण धरानेहरुले गौरव गर्नुपर्ने भन्दै खेल जीवनको प्रगतिको शुभकामना पनि व्यक्त गरे ।

मेयर राईले भने, ‘शुक्रबहादुर राई नेपालकै नम्बर वान प्रोफेसनल खेलाडी हो । हाम्रो धरानको उत्पादन हो । धराने गल्फरहरुको उसमा धेरै ठुलो लगानी छ । इमानदारीपूर्वक नेपाल गल्फ एसोसिएसनको ट्रेनिङमा बसेर एमेच्योरमा पनि ६, ७ वटा देश नेपालको प्रतिनिधि गरेर खेल्न गइसकेका छन् । साफ गेममा पनि उनले मेडल जितेका छन् । विगत दुई वर्षदेखि व्यावसायिक खेलाडीको रूपमा खेलिरहेका छन् । उनले भर्खरै धरानमा सम्पन्न सूर्य नेपाल इष्र्टन ओपन पनि जिते र काठमाडौँको सेन्टर ओपन पनि जितेका छन् । भारतको गुजरातस्थित अहमदावादमा टाटा स्टिल प्रोफेसनल गल्फ टुर अफ इन्डिया २०२२ क्वालिफाइ स्कुल आयोजना हुदैछ ।

फेब्रुअरी १० तारिख रजिस्ट्रेसन हुनेछ भने ११ र १२ तारिख प्रि क्वालिफाई हुनेछ । यस्तै, १४ मा पुनः रजिस्ट्रेसन भएर १५ र १६ मा भएको खेलमा कट जोगाउन सक्नेहरू १७ र १८ गते फाइनल खेल्न पाउँछन् । शुक्रले दिएको जानकारी अनुसार प्रि क्वालिफाइमा करिब १ सय २० खेलाडीहरू सहभागी हुनेछन् । ती मध्ये प्रि-क्वालिफाईबाट ८० जना छनौट हुनेछन् । त्यसमध्ये पनि फाइनलको लागि ४०/५० जना मात्र फाइनलको लागि छनौट भएर फुल कार्ड पाउँछन् । शुक्रले फुल कार्ड पाउने खेलाडीले भारतमा हुने सबै प्रोफेसनल गल्फ प्रतियोगिता खेल्न पाउने जानकारी दिए ।