धरान : उच्च अदालत विराटनगरको उत्प्रेषणको परमादेशको सम्मान गर्दै आन्दोलनरत १० राजनैतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला ४ दिन पछि तालाबन्दी कार्यक्रम स्थगित गर्दै खोलिदिएका छन् ।

खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको शुल्क, महशुल खारेज गरी पुरानै दर यथावत् राख्न माग गर्दै खानेपानी बोर्ड अध्यक्षको कार्यकक्ष, निर्देशक र आर्थिक प्रशासन सहित धरान ११, १५, १६ को बिल काउन्टरको ताला बुधवार दिउँसो खोलिएको हो ।

दलहरूले पहिलो चरणको आन्दोलन साउन ११ गते सुरु गरेको थियो । दोस्रो चरणमा साउन २० गते आइतबार तालाबन्दी गरेको थियो । तालाबन्दी गरेपछि धरान नगर प्रमुख हर्क साम्पाङले उच्च अदालत विराटनगरमा रिट हालेका थिए ।

जसपा धरान अध्यक्ष ताजुब लिम्बुले उच्च अदालतले आदेश जारी गरेकाले न्यायालयको आदेशलाई सम्मान गर्दै विधि सम्मत प्रक्रियालाई अवरोध नगरी तालाबन्दी कार्यक्रम स्थगित गरिएको बताए ।

उनले भने ‘दलहरू लोकतन्त्र र गणतन्त्रबाट सिर्जित नियम र विधि प्रक्रिया राजनैतिक संस्कार र प्रणालीमा आधारित भएर कार्य गर्ने सङ्गठन हो ।’  

आन्दोलन उपमहानगरपालिका केन्द्रित हुने : 

आन्दोलनरत १० राजनैतिक दलहरूले खानेपानी बोर्डमा लगाएको तालाबन्दी कार्यक्रम स्थगित गर्दै धरान उपमहानगरपालिकाको कार्यालय केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

भोली बिहीबार उपमहानगरपालिका परिसरमा नारा जुलुस सहित धर्नाको कार्यक्रम गर्ने माओवादी केन्द्र धरान इन्चार्ज चोत्लुङले बताए । उनले भने ‘तत्काल महशुल वृद्धि भएको शुल्क घटाएर यथावत् नराखे आन्दोलन थप उत्सर्गमा पुर्याउदै सशक्त बन्ने छ ।’

आन्दोलनबाट सृजित परिणामको सम्पूर्ण जिम्मा स्वघोषित बोर्ड अध्यक्षले लिनुपर्ने उनले बताए ।