झापा: पछिल्लो समय पशु बिमातर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । पशुधनको सुरक्षाका लागि पशु बिमा कार्यक्रम सञ्चालनमा आएसँगै बिमाप्रति किसानको आकर्षण बढेको हो ।

बेरोजगारी समस्याको समाधान गर्ने तथा आर्थिक वृद्विदर बढाउने उद्देश्यले किसानको पशुधन सुरक्षाका लागि सरकारले पशुपन्छी बिमाको व्यवस्था यसअघिनै गरेपनि किसानले चाल नपाउँदा कार्यक्रम प्रभावकारी हुन सकेको थिएन । तर, पछिल्ला दिनहरुमा अभियानकै रूपमा काम गरेपछि पशु बिमाप्रति किसानको आकर्षण बढेर गएको पशु प्राबिधिकहरु बताउछन् ।

झापामा पनि पशु बिमा कार्यक्रम प्रभाकबारी बन्दै गएको छ । झापाको गौरादहस्थित १ नम्बर वडा कार्यालयले कृषकहरुलाई सहयोग गरेपछि निःशुल्क पशु बिमा कार्यक्रम प्रभावकारी बन्ने देखिएको छ । स्थानीय सरकारलेपनि कृषकहरुलाई पशु बिमा कार्यक्रमका लागि सहयोग गरेको गौरादह नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारी बताउँछन् ।

पशुपालक किसानले बिमा गर्ने कुनै पनि पशुको कायम मूल्यको पाँच प्रतिशत रकम मात्र प्रिमियमबापत तिर्नुपर्ने र बाँकी ७५ प्रतिशत रकम सरकारले अनुदान सहयोग दिने व्यवस्था छ । यस्तै पशु बिमा कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन प्राविधिक कर्मचारीहरूलाई तालिम दिईसकिएको र पशु बिमा कार्यक्रमका कारण किसानलाई पशुधनको जोखिम न्यून गरी उनीहरूको व्यावसाय विकासका लागि महत्वपूर्ण सहयोग समेत मिल्ने पशु सेवा शाखा कार्यालय गौरादहका प्रमुख सन्तोस भण्डारीको भनाइ छ ।

बिमा गर्नुपर्छ र बिमा गर्दा सरकारले राहत दिन्छ भन्ने कुराको जानकारी नभएकाले यसतर्फ कृषक बढी आकर्षित नभएको ठम्याइ छ बिमा कम्पनीहरुकोपनि । लुम्बिनी जनरल ईन्सुरेन्स दमक शाखाका प्रमुख कुमार गजुरेल सरकारले कार्यक्रम ल्याउने तर त्यसको प्रभाबकारिताका बरेमा जनचेतना नफैलयाउने कारणपनि समस्या आईरहेको बताउछन् ।

सरकारले २०६९ माघदेखि पशु र कृषिपालन व्यवसायमा लाग्ने किसानका लागि राहत र जोखिम घटाउन बिमा लागू गरेको थियो । सुरुका वर्षमा बिमा गर्दा लाग्ने शुल्कमा सरकारले ५० प्रतिशत र कृषकले ५० प्रतिशत प्रिमियम बुझाउने व्यवस्था गरे पनि प्रभावकारी नभएकाले सरकारले नै ७५ प्रतिशत प्रिमियम बेहोर्न थालेको छ । किसानले तिर्नुपर्ने २५ प्रतिशतमध्ये पाँच प्रतिशत बिमा शुल्क तिरेर पशु बिमा दाबी गर्न सक्ने व्यवस्था छ ।