काठमाडौं : मौसम प्रतिकूलताका कारण रोकिएको सगरमाथा मापनको बाँकी काम फेरि सुरु भएको छ । मापनको बाँकी कामका लागि शनिबार १३ जनाको टोली सोलुखुम्बु गएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत तथा साधनमा सगरमाथाको मापन गरिरहेको छ ।

हिमाली र तराई क्षेत्रमा मापनको काम सकिएर तथ्याङ्क ‘प्रोसेसिङ’ भइरहेको छ । पहाडी जिल्लामा मात्र मापनको काम बाँकी रहेको हो । भारतको समुद्री सतहदेखि सुरु भएको मापनको काम भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, सङ्खुवासभामा बाँकी रहेको हो ।

नापी विभागले मापनको काम आउँदो डिसेम्बरसम्म सक्ने कार्यतालिका तय गरेको थियो । कार्यतालिकाभन्दा काम केही ढिलो हुनसक्ने देखिएको छ । नापी विभागको सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले सार्वजनिक गरिएको कार्यतालिकाभन्दा थप समय लाग्नसक्ने सङ्केत गर्दै भने, ‘कति समय लाग्छ भन्न
गाह्रो हुन्छ ।’

ग्राबिटी सर्भे र त्रिगोनोमेटिक लेबलिङ भन्ने दुई विधिबाट सगरमाथाको मापन भइरहेको छ । उनले ग्राबिटी सर्भेको मेसिन एउटा मात्र भएको हुँदा समयमा काम सक्न कठिनाइ भएको बताए  । उनले गर्मी मौसममा मात्रै हिमाली क्षेत्रमा काम गर्नुपर्ने भएका कारण अन्य क्षेत्रको कामका लागि मेसिन नहुँदा असहज भएको स्पष्ट पारे । उनले भने, ‘पहिले हिमाली क्षेत्रको काम सकौँ भनेर उता केन्द्रित भएका हौँ ।’

दशैँपछि तीन जनाको टोली ‘ग्राबिटी सर्भे’का लागि फिल्डमा गइसेकेको पनि उनले जानकारी दिए । त्रिगोनोमेटिक ‘लेबलिङ’को कामका लागि थप जनशक्ति फिल्डमा पठाइएको हो । गोरखापत्र दैनिकबाट/ तस्बिरः गुगल