मेडस्टोन(बेलायत) : आदिवासी मुद्दालाई मूलधारमा ल्याउन सामुदायिक पत्रकारिताको आवश्यकता रहेको लिम्बु पत्रकारहरूले बताएका छन् ।

ठूला सञ्चारमाध्यम सिमान्तकृतहरूको सवालमा अझै पनि उदासीन रहेको भन्दै उनीहरूले गुनासो पोखेका छन् ।
सोमबार बेलायतको मेडस्टोनमा लिम्बु पत्रकार सङ्घ, यूकेले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको विमर्श कार्यक्रममा विभिन्न सञ्चारमाध्यम तथा स्वतन्त्र रूपमा कार्यरत लिम्बु समुदायका पत्रकारहरूले भावी रणनीतिबारे पनि छलफल गरे । भिडियो म्यासेन्जरमार्फत् शुभकामना दिँदै पोर्चुगलमा कार्यरत नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य राजकुमार दिक्पालले आदिवासी जनजातिको मुद्दाका लागि सङ्घले विगतमा प्रभावकारी भूमिका खेलेको बताए । अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दिक्पालले समावेशी मिडिया निर्माणमा जनजाति पत्रकारहरू निरन्तर लाग्नुपर्ने सुझाए । यसैगरी, नेपालबाट शुभकामना मन्तव्य दिने क्रममा लिम्बु पत्रकार सङ्घ नेपालका अध्यक्ष देवेन्द्र खापुङले सामुदायिक पत्रकारिता विकासका लागि जनजातीय पत्रकार सङ्गठनहरू महत्वपूर्ण रहेको भनाइ राखे ।

यसैगरी, नेपाल जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेका पूर्वअध्यक्ष विश्वासदीप तिगेलाले पत्रकार उत्पादन गर्दै अब समुदायको प्रतिष्ठा र समृद्धि आर्जनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिृय पत्रकार महासङ्घ(आईएफजे)का सदस्य सुरेन्द्र इङ्नामले चुम्लुङलगायतका लिम्बुजन्य संस्थाहरूबीच सङ्घले सुमधुर सम्बन्ध कायम राख्दै सहकार्य गर्नुपर्ने विचार प्रस्तुत गरे । त्यस्तै, अर्का आईएफजे सदस्य तथा फोनिज सदस्य खुशी तावाले पत्रकारिता क्षेत्रमा लागिरहेका समुदायका कलमजीविहरूको अभिलेख राख्नुपर्ने भन्दै ध्यानकार्षण गराए । यसैगरी, स्तम्भकार एवम् कवि लाहाङ चेम्जोङले आदिवासीय पत्रकारिताले केन्द्रको विर्निमाण गर्नुपर्ने तर्क अघि सारे । विमर्श कार्यक्रम सङ्घका सदस्य सचिव सिर्जना निङ्लेकूले सञ्चालन गरेकी थिइन् ।
सन् २०१७ अप्रिल २२ तारिखका दिन बेलायतमा लिम्बु पत्रकार सङ्घ पहिलोपटक गठन भएको संयोजक अमित थेवेले जानकारी गराए । उनले अगष्टमा गर्ने भनिएको अधिवेशन तयारी अभावका कारण नोभेम्बरमा सारिएको बताए । आगमी तीन महिनाभित्र यूकेका सबै क्रियाशील लिम्बु पत्रकारहरूलाई सङ्घले परिचयपत्र वितरण गरिसक्ने संयोजक थेवेले जनाए ।